सेहोनाम्लाङ साँस्कृतिक पर्यटन संस्था (फाकुमि) को अध्यक्षमा देउमान आङदेम्बे

  युद्धबहादुर बोहोरा
385 Shares

पाँचथरः  लिम्बू समुदायको ऐतिहासिक र धार्मिक आस्थाको केन्द्र  सेहोनाम्लाङको पवित्र भूमिसँग जोडिएको सेहोनाम्लाङ साँस्कृतिक पर्यटन संस्था (फाकुमि) को प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार फाल्गुनन्द ५ घुर्विसे पञ्चमीमा सम्पन्न अधिवेशनले देउमान आङदेम्बे (डिएम) लाई संस्थाको अध्यक्षमा निर्वाचित गरेको हो। अधिवेशनबाट गठन भएको १७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा गोविन्द आङ्देम्वे, सचिवमा खिमसेमी शेर्मा, सह–सचिवमा दिलिप आङ्देम्वे,  कोषाध्यक्षमा मीना सुब्बा र सह–कोषाध्यक्षमा प्रतिमा आङ्देम्वे (तारा) चयन भएका छन्।

सदस्यहरूमा जानुका फियाक, रेवत आङ्देम्वे, भीम प्रसाद चेम्जोङ, सुजता लावती, मीनबहादुर शेर्मा, योगेन्द्र आङ्देम्बवे, देवीचन्द्र शेर्मा, जीतेन चेम्जोङ, संवेग कुरुम्वाङ, हरिषचन्द्र आङ्देम्वे र पञ्चकुमार चेम्जोङ निर्वाचित भएको निर्वाचन मण्डल संयोजक सूर्यप्रकाश चेम्जोङले जानकारी दिए। अधिवेशनमा निर्वाचन समिति सदस्यमा मोहनकुमार चेम्जोङ र केवी चेम्जोङ समेत रहेका थिए। कार्यक्रममा कोषाध्यक्ष मीना सुब्बाले संस्थाको हालसम्मको बचत रु. १ लाख ११ हजार २६० रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।

नवनिर्वाचित अध्यक्ष देउमान आङदेम्बेले संस्थाको हालसम्मका गतिविधिहरू र आगामी कार्ययोजना प्रस्तुत गर्दै भने, “सेहोनाम्लाङ केवल धार्मिक स्थल होइन, यो हाम्रो पहिचानको प्रतीक हो। यसलाई संरक्षित गर्दै पर्यटन प्रवर्द्धनका माध्यमबाट स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने हाम्रो लक्ष्य छ।”

२६२ जना साधारण सदस्य रहेको यो संस्था २०८१ मा स्थापना भएको हो । संस्थाले स्थापना पश्चात् नै दुई पटक पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न गरिसकेको छ। त्यस महोत्सवमा लिम्बू समुदायको परम्परागत नाच, गीत, पोशाक र भाषा प्रदर्शन गर्दै स्थानीय संस्कृति संरक्षणको सन्देश फैलाइएको थियो। कुम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाको संगम स्थलमा रहेको यस सेहोनाम्लाङ क्षेत्रको सफा–सुन्दर अभियान, धार्मिक स्थल सरसफाइ, र युवा स्वयंसेवक परिचालन कार्यक्रम पनि यस संस्थाले सञ्चालन गर्दै आएको छ। स्थानीय युवाहरूको सक्रियतामा निर्माण गरिएको सेहोनाम्लाङ प्रवेशद्वार र सांस्कृतिक मार्गका सूचक बोर्डहरू संस्थाका पहलमा सम्भव भएका केही उदाहरण हुन्। अधिवेशनका प्रमुख अतिथि तथा जेष्ठ सल्लाहकार धनेन्द्र चेम्जोङले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको दीर्घकालीन उद्देश्यलाई निरन्तरता दिन सुझाव दिए।
उनले भने,“सेहोनाम्लाङ हाम्रो सांस्कृतिक आत्मा हो। यसको संरक्षणले मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ।” कार्यक्रममा समाजसेवी मणीचन्द्र चेम्जोङ, लाखबहादुर आङ्देम्वे, सूर्यप्रकाश चेम्जोङ, उदिप चेम्जोङ, केवी चेम्जोङ, याम नेम्वाङ, भगेन्द्र आङ्देम्वे र केहेरसिं चेम्जोङलगायतका अतिथिहरूले नयाँ समितिलाई शुभकामना मन्तव्य राखेका थिए।

नवनिर्वाचित समितिले सेहोनाम्लाङ क्षेत्रमा सांस्कृतिक तथा धार्मिक संग्रहालय स्थापना, पर्यटन मार्ग र जानकारी केन्द्र निर्माण, वार्षिक सांस्कृतिक महोत्सव निरन्तरता  र युवा स्वयंसेवक तालिम कार्यक्रम
जस्ता योजनाहरू अघि सार्ने प्रतिबद्धता जनाएको छ। संस्थाका अनुसार यी योजना कार्यान्वयनमा आएपछि सेहोनाम्लाङलाई पूर्व नेपालको प्रमुख सांस्कृतिक–पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। यसलाई उचाईमा पुर्याउन सवै सरोकारवाला निकायले सहयोग गर्न संस्थाले अनुरोधसमेत गरेको छ ।

सेहोनाम्लाङको ऐतिहासिक पृष्ठभूमि

सेहोनाम्लाङ क्षेत्र पाँचथरको मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकाको संगमस्थलमा अवस्थित छ। यो स्थल लिम्बू समुदायको नाम्सामी–केसाममी मिथकसँग जोडिएको छ, जसलाई लिम्बू धर्म र इतिहासको आत्मा मानिन्छ। स्थानीय मान्यताअनुसार, सेहोनाम्लाङलाई “धार्मिक यात्राको आरम्भ बिन्दु” र “पूर्वीय किराँत सभ्यताको स्रोतस्थल”का रूपमा पनि चिनिन्छ। फाकुमिको स्थापना त्यही पौराणिक भूमि संरक्षण गर्ने उद्देश्यले गरिएको हो— ताकि आगामी पुस्ताले आफ्नो मूल पहिचान, भाषा र परम्परालाई सेहोनाम्लाङबाट नै पुनर्जीवित गर्न सकोस्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार