
पाँचथर : जनकल्याण माध्यमिक विद्यालय फाल्गुनन्द- ५ फाक्तेप, कोल्बुङमा लामो समयदेखि शिक्षण सेवामा समर्पित दुई शिक्षकलाई विदाई गरिएको छ । शिक्षक अम्बिका प्रसाद सापकोटा र बल बहादुर चेम्जोङलाई सम्मानपूर्वक विदाई गरिएको हो । करिव ३७ वर्ष लामो सेवा अवधि भर शिक्षण गरेका उनीहरुलाई विद्यालयमा पुर्याएको योगदान स्मरणीय रहेको जनाइएको छ। यसै अवसरमा शिक्षक चेम्जोले विद्यालयको भूतपूर्व विद्यार्थी अक्षयकोषमा २९ हजार ४४५ रुपैयाँ हस्तान्तरण गरेर उदाहरणीय योगदान दिएका छन्।
त्यसैगरी विद्यालयमा नवपदस्थापित शिक्षकहरूको स्वागत गर्दै नयाँ उमंगका साथ अघि बढ्न प्रेरणा दिइएको थियो। कार्यक्रममा वडा अध्यक्ष विष्णुकुमार चेम्जोङ प्रमुख अतिथि रहनु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर चेम्जोङ, शिक्षक अभिभावक संघ अध्यक्ष बलीराज चेम्जोङ, विव्यस र शिक्षक तथा अभिभावकलगायतको विशेष उपस्थिति रहेको थियो। समग्र कार्यक्रमको सफल संचालन विद्यालयका प्रधानाध्यापक पूर्णकुमार सदेम्बाको अध्यक्षतामा सम्पन्न भएको हो। विद्यालय परिवारले शिक्षा दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई, प्रेरणा र प्रतिबद्धताको रूपमा मनाएको जनाइएको छ।
कार्यक्रमको मुख्य आकर्षण “इन्टरनेट : विद्यार्थीका लागि वरदान कि अभिशाप?” विषयक वादविवाद प्रतियोगिता समेत संचालन गरिएको थियो। विद्यालयका चार सदनहरूबाट २० जना विद्यार्थी सहभागी उक्त प्रतियोगितामा देउराली सदनकी अञ्जना चेम्जोङ प्रथम स्थानमा विजयी भइन्। सिलौटी सदनकी कृति चेम्जोङले दोस्रो र नाम्तोक सदनकी खुशी लिम्बुले तेस्रो स्थान हासिल गरेका थिए उनीहरुलाई अतिथिको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।



















































