इलाम सिटी मार्टको लिफ्ट मर्मत गर्नु ‘फजुल खर्च’ हो : मेयर केदार थापा

  नयाँ बुलन्द
532 Shares

इलाम  : इलाम नगरपालिकाका मेयर केदार थापाले सदरमुकामस्थित सिटी मार्टमा रहेको लिफ्ट मर्मत गुर्न ‘फजुल खर्च’ रहेको बताएका छन् । मेयर थापाले बुधबार इलाम नगरपालिकामा पत्रकार सम्मेलन नै गरेर सिटी मार्टको बिग्रिएको लिफ्ट मर्मत गर्नु फजुल खर्च मात्र रहेको बताएका हुन् । उनले सिटी मार्टको संरचना अनुसार लिफ्ट आवश्यक नभएको भन्दै त्यसलाई ‘फजुल खर्च’को संज्ञा दिएका छन् । यो अभिव्यक्तिले अहिले नगरपालिकाको विकास योजना र प्राथमिकतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

मेयर थापाले नगरपालिकाको फजुल खर्च घटाउने उद्देश्य अनुरुप यस वर्ष इन्धन र मसलन्दमा हुने खर्चमा मितव्ययीता अपनाएको दाबी गरे । तर, उनले गरेको सिटी मार्टको लिफ्ट सम्बन्धी निर्णयले उनको ‘फजुल खर्च’को परिभाषामाथि नै प्रश्न उठाएको छ। सिटी मार्ट जस्तो सार्वजनिक उपयोगको भवनमा लिफ्ट सुविधा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि अत्यावश्यक मानिन्छ । यसलाई केवल ‘मनोरञ्जन’को साधनको रूपमा व्याख्या गर्नु सामाजिक संवेदनशीलताको कमी भएको टिप्पणी भइरहेको छ।

पत्रकार सम्मेलनमा मेयर थापाले अस्पताल लाइनबाट सिटी मार्टको दोस्रो तलामा सिधै पुग्न सकिने र लिफ्टको पटकपटक बिग्रिने समस्या तथा मर्मतका लागि वार्षिक दुई लाखसम्म खर्च हुने तर्क प्रस्तुत गरे। तर, यो तर्क आफैंमा विरोधाभासपूर्ण देखिन्छ । यदि लिफ्ट बिग्रिन्छ भने त्यसको मर्मत गर्नु वा नयाँ प्रविधियुक्त लिफ्ट राख्नुपर्नेमा त्यसलाई पूर्णरूपमा हटाउने निर्णय गर्नु विकासको पछाडी हट्नु जस्तै हो । मर्मत खर्चलाई फजुल भन्नुले पूर्वाधारको दीर्घकालीन व्यवस्थापनमा नगरपालिकाको उदासीनता बने जस्तै देखिन्छ । काठमाडौंबाट प्राविधिक ल्याउनुपर्ने समस्यालाई पनि समाधानको विकल्प खोज्नुको सट्टा लिफ्ट नै हटाउनु अव्यावहारिक निर्णय भएको देखिन्छ ।

यता नगरपालिकाले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको भनिए पनि मेयर थापाले कुनै नयाँ वा महत्त्वपूर्ण योजना सार्वजनिक गरेनन् । बरु, केही दिनअघि बिभिन्न संचारमाध्यममा प्रकाशन÷प्रशारण गरेका समाचारहरूलाई केन्द्रित गरेर स्पष्टीकरण दिने प्रयास गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार