इलाम नगरपालिकाको सामुदायिक आँखा अस्पताल बन्द !

  नयाँ बुलन्द
1k Shares

इलाम : इलाम नगरपालिकाले धुमधामका साथ सुरु गरेको इलाम सामुदायिक आँखा अस्पतालको ढोकामा नखाेलिने गरि ताला झुन्डिएको छ । स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो भएको दाबी गरिएको अस्पताल  गत महिना देखि बन्द भएको छ । यो अस्पताल अहिले एउटा प्रयोगविहीन संरचनामा परिणत भएको छ । लाखौँको लगानीमा निर्मित भवन, महत्वपूर्ण उपकरण र अनुभवी जनशक्ति हुँदाहुँदै पनि अस्पताल बन्द हुँदा इलामका नागरिकहरूले आफूलाई सुविधाबाट वञ्चित भएको महसुस गरिरहेका छन् ।

वि.सं. २०७८ पुस ७ गते भव्य समारोहका साथ उद्घाटन भएको यो अस्पतालले इलामका जनतालाई आफ्नै ठाउँमा आँखाको उपचार सहज हुने आशा जगाएको थियो । आँखाको सामान्य उपचार, जाँच, चस्मा बनाउने र साधारण शल्यक्रियासम्मको सेवा दिँदै आएको सामुदायिक आँखा अस्पतालमा सातौं तहका एकजना नेत्र विशेषज्ञ, पाचौं तहको एक नजा नेत्र सहयाक, एक जना फार्मेसिष्ट र एक जना चस्मा बनाउने प्राविधिक कार्यरत थिए ।

सिंहबाहिनी खोल्सालाई व्यवस्थित गरी ५७ लाख ९० हजार रुपैयाँको लागतमा निर्मित भवन पनि सञ्चालनका लागि तयार थियो । तर, अहिले त्यो भवनमा ताला लागेको छ, र अस्पतालको छेउछाउ झाडीले छोपिन थालेको छ । नगरपालिकाले सेवाग्राहीलाई भवन टाढा भएको भन्दै अस्पताल बन्द गर्ने निर्णय ग¥यो ।

यो तर्क सुनेर इलाम नगरपालिका–९ का स्थानीय राजेन्द्र शर्मा दुखी छन् । ‘जिल्ला अस्पताल र आँखा अस्पतालको दूरी ५ सय मिटर मात्र छ । यो कसरी टाढा भयो ? उनि प्रश्न गर्छन । उनको बुझाइमा, यो अस्पताल बन्द गर्ने एउटा बहाना मात्र हो ।अस्पताल टाढा भएको भनेर बन्द गर्नु भनेको लज्जासपद रहेको बताए ।

सबैकुरा चोक बजारमा मात्र राख्ने हो भने त त्यो कसरी सम्भव होला र भन्ने प्रश्न समेत शर्माले राखे । यस्तै शर्माले भने, “बजार क्षेत्रमै रहेको अस्पताल त टाढा भएको स्थानिय सरकारलाई अझ बिकेन्द्रिकरणको शिद्नधान्त अनुसार निमार्ण गरिएका अन्य संरचना जस्तै शेराको कोल्ड स्टोर, गोलाखर्कको शुकिलुम्बा बिमानस्थल, शेरामा रहेको बसपार्क तयारी भएर संचालनका लागि यो स्थानिय सरकारले पहल नगर्नुको कारण टाढा भएरै रहेछ भन्ने बल्ल आझ थाहा पाइयो । तर ति निमार्ण गरिएका संरचनामा भने जनताको ठूलो घनराशी खर्च भएको छ त्यसको हिसाबकिताब एक दिन जनताले अवश्य गर्नेछन् ।” शर्माको जस्तै धेरैको मनमा एउटै प्रश्न उठेको छ , के यो साँच्चै भौगोलिक दूरीको कुरा हो वा अन्य कुनै …?

यता यस विषयलाई लिएर वडा नं ५ का निवर्तमान वडा अध्यक्ष ठाकुरनारायण श्रेष्ठले अघिल्लो कार्यकालको राम्रो कामलाई निरन्तरता नदिँदा यस्तो अवस्था आएको बताएका छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार, उपप्रमुखको अध्यक्षतामा एउटा सञ्चालक समितिले अस्पताल व्यवस्थापन गर्ने अधिकार पाएको थियो । तर, वर्तमान नेतृत्वले यो अधिकार प्रयोग गरी अस्पताललाई व्यवस्थित गर्नुको सट्टा बन्द गरिदियो । यो निर्णयले केही वर्ष अघिको सपनालाई मात्रै मारेको छैन, जनताले स्थानीय सरकारमाथि गरेको विश्वासलाई पनि कमजोर बनाएको छ ।

अध्यक्ष श्रेष्ठले अस्पताल बन्द गरिएको समाचारले नागरिकहरुमा गलत सन्देश प्रवाह भएको भन्दै पुन अस्पताल सञ्चालन गर्नुपर्ने माग गरे । श्रेष्ठले भने, ‘यसले आम नागरिकहरुमा असुविधा प्रदान गरेको छ, बाहिर सन्देश पनि राम्रो गएको छैन, त्यसैले तत्काल अस्पताल सुचारु गरी सेवा प्रवाह गर्न नगरपालिकालाई अनुरोध गर्दछु ।’

नगरपालिका आफैंले सञ्चालन गरेको सामुदायिक आँखा अस्पताल बन्द गरेपछि नगरबासीहरुले नेतृत्वको तीव्र आलोचना गर्दै पुनः अस्पताल सञ्चालन गर्न माग गरेका छन् । अस्पताल बन्द भएपछि सबै जनशक्ति र उपकरणलाई अहिले इलाम अस्पतालको एउटा सानो कोठामा सारिएको छ ।

उता नगर उपप्रमुख विष्णुकुमारी लिम्बू र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले यसलाई इलाम अस्पतालसँगको सहकार्य भन्दै सेवा निरन्तर चलिरहेको दाबी गरेका छन् । इलाम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकै अनुमतिमा इलाम अस्पतालसँग सम्झौता गरेर त्यहीँ आँखा अस्पताल सञ्चानल गरिएको बताए ।

तर यता स्थानीयहरूको गुनासो बेग्लै छ। ‘एउटा पूर्ण पूर्वाधार भएको अस्पताललाई एउटा सानो कोठामा ‘थन्क्याउनु’ स्वास्थ्य सेवामाथिको खेलवाड हो,’ इलाम नगरपालिका–७ का प्रकाश घिमिरेले भने । उनका अनुसार, यसले सेवाको गुणस्तरमा मात्रै होइन,लाखौँ लगानी गरेर बनाइएको भवन र किनिएका उपकरणहरू अहिले प्रयोगविहीन भएका छन्।’

यता यस बिषयमा बुझन नगर प्रमुखलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । जब सुविधा घरदैलोमा आइपुग्छ, नागरिकहरूले राहतको सास फेर्छन्। तर, जब त्यो सुविधा खोसिन्छ, उनीहरूको मनमा निराशा र आक्रोश भरिन्छ। अहिले इलाम नगरपालिकाका जनताको मनमा यही कुरा खेलिरहेकाे छ।

इलाम अस्पतालको भवनमा नेत्र ज्योति संघकाे आँखा उपचारको सेवा

इलाम अस्पतालको भवनमा विगत लामो समयदेखि नेत्र ज्योति संघले आँखा उपचारको सेवा दिइरहेको छ । यो संस्थाले इलाममा आँखा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

यसै सन्दर्भमा, इलाम नगरपालिकाले आफ्नै सामुदायिक आँखा अस्पताल बन्द गरेर सोही अस्पताल भवनको एउटा कोठाबाट सेवा सञ्चालन गर्ने निर्णयले थप प्रश्न खडा गरेको छ । नेत्र ज्योति संघले पहिलेदेखि नै सेवा दिइरहेको ठाउँमा नगरपालिकाको छुट्टै सेवा सञ्चालन गर्नुले सेवा प्रवाहको व्यवस्थापन र दक्षतामाथि नै प्रश्नचिन्ह लागेको छ। यसले दुई फरक संस्थाबाट एकै स्थानमा सेवा दिँदा स्रोतसाधनको दोहोरो प्रयोग हुने र सेवाग्राहीमा पनि अन्योल सिर्जना हुने जोखिम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार