पाँचथरको बत्तीसे झरना र रिसोर्ट: पूर्वी नेपालको नयाँ घुम्न योग्य ठाउँ (फोटो फिचरसहित)

  युद्धबहादुर बोहोरा
630 Shares

पाँचथर : पूर्वी नेपालको पाँचथर जिल्लामा रहेको बत्तीसे झरना र बत्तीसे रिसोर्ट अहिले पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। चिसो पानी बग्ने रमणीय झरना, हरियालीले भरिएको वातावरण र झरनाको छेउमै बनाइएको रिसोर्टले यहाँ आउने जो-कोहीलाई लोभ्याइरहेको छ।

यो ठाउँ फाल्गुनन्द गाउँपालिका ३ नम्बर वडास्थित निवुखोला नजिकै मेची राजमार्गबाट जम्मा पाँच सय मिटरको दूरीमा पर्छ, जसले गर्दा पुग्न सहज छ। प्राकृतिक सुन्दरताका साथै यहाँको ट्रेकिङ मार्ग पनि रमाइलो छ। परिवार र साथीभाइसँग घुम्न चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य बनेको छ।

वैदेशिक रोजगारमा रहेका स्थानीय व्यवसायी प्रेम नेम्वाङले करीब १ करोड ५० लाख रुपैयाँ लगानी गरेर बनाएको बत्तीसे रिसोर्टमा लिम्बु समुदायको मौलिक संस्कृति झल्कने होमस्टे, कलात्मक कट्टेज, स्विङ, फूलबारी, अर्गानिक तरकारी बगैंचा, बच्चाहरू खेल्ने पार्क र सानो चिडियाखानासमेत छन्।

यहाँको विशेषता भनेको प्राकृतिक वातावरणसँगै रैथाने परिकार र अतिथि सत्कार हो, जहाँ रिसोर्टले आफ्नै बगैंचामा फलाएका ताजा फलफूल, तरकारी र अन्नका परिकार पाहुनालाई पस्किन्छ। यसले स्वदेशी स्वादको छुट्टै अनुभव दिन्छ।

फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोल्साहरुमा पुल, पदमार्ग र पार्क बनाउने काम भइरहेको पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए। झोलुङ्गे पुल निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ, जसले आवतजावत झनै सहज बनाउनेछ। साथै झरनाको दृष्य अवलोकन र तस्वीर खिच्न थप सजिलो हुनेछ । यस ठाउँमा भौतिक संरचना निर्माण सम्पन्नपछि विभिन्न  म्युजिक भिडियो र फिल्महरुको समेत छायाँकन गर्न सकिने स्थानीय युवा अनिश तामाङ बताउँछन् ।

पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे अनुसार बत्तीसे चाँडै पूर्वी नेपालको पर्यटकीय ‘हटस्पट’ बन्ने तयारीमा छ। स्थानीय व्यावसायीले लगानी गरेर बनाइएको रिसोर्ट र यस ठाउँको पर्यटकीय क्षेत्रले पालिकामा पर्यटन प्रवर्द्धनमा टेवा मिल्नुका साथै यस पालिकालाई सुन्दरता थपेको छ ।  यहाँ काठमाडौँ, भारतको बिहार र ताप्लेजुङतर्फ यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढ्दै गएको छ। पाथीभरा मन्दिर जाने क्रममा धेरै पर्यटक बत्तीसेमा पनि समय बिताउने गरेका छन्।

रिसोर्ट सञ्चालिका रेनुका राई नेम्वाङ भन्छिन्, “सिजन अनुसार पाहुनाको चाप बढ्ने गर्छ, यहाँको खाना सबैलाई मन पर्छ र धेरै पाहुना फर्केर पनि आउनुहुन्छ।”

यदि तपाईं शान्त, प्राकृतिक र मौलिक स्वाद अनुभव गर्न चाहनुहुन्छ भने, बत्तीसे झरना र रिसोर्ट घुम्न एकपटक अवश्य जानुहोस्। यो पूर्वी नेपालको नयाँ र उदीयमान पर्यटकीय गन्तव्य हो। पछिल्ला गर्मी मौसममा शितलको आनन्द लिन र सुन्दर वातावरणमा रम्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार