माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाइ सम्पन्न (तस्बिर/भिडियोसहित)

  नयाँ बुलन्द
210 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ वडा कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसँग सम्बन्धित विषयहरूमा गुनासो, प्रश्न तथा सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।

सारथि अनलाईन प्रालिको संयोजन तथा सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा ४ जना सेवाग्राहीले प्रत्यक्ष रूपमा चासो, गुनासो, प्रश्न तथा सुझाव राखेका थिए । सहभागीहरूमध्ये जितबहादुर थापा, भक्तराज इधिङ्गो, दलबहादुर राई र राजमान राईले जग्गा नापी, पूर्वाधार विकास, सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्युत विस्तार, शिक्षा, कृषि उपमा प्रोत्साहनलगायतका विकास निर्माण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहका विविध पक्षमा प्रश्न, गुनासो र सुझाव प्रस्तुत गरे ।

सेवाग्राहीका प्रश्नको उत्तर वडा अध्यक्ष कृष्णबहादुर बस्नेत र वडा सचिव हेमसागर निरौलाले दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष बस्नेतले नागरिकका प्रश्न र सुझावलाई सम्पत्तिको रूपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

सुनुवाइमा वडासचिव घिमिरेले चालु आर्थिक वर्षमा सम्पन्न योजना तथा कार्यक्रमहरूको प्रगति विवरण, सेवाप्रवाह र सुशासन प्रवर्द्धनबारे प्रतिवेदन प्रस्तुत गरे ।

सारथि अनलाइन प्रालिका सहजीकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन र ३० जनाको बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गर्नुभयो । नागरिक अभिमत प्रतिवेदनमार्फत प्राप्त सुझावहरूमध्ये सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाउनुपर्ने, नागरिक बडापत्रको उपयोगिता वृद्धि गर्नुपर्ने, उजुरी पेटिकाबारे जनचेतना बढाउनुपर्ने तथा वडा कार्यालयको आम्दानी र खर्च नियमित रूपमा सूचना पाटीमा प्रकाशित गर्नुपर्ने लगायत सुझाव उल्लेख थिए । यस्तै बहिर्गमन अभिमतबाट विधिन्न सुधारका विषयहरू औंल्याइएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता तथा सार्वजनिक चासोका विषयमा नागरिकको सूचना पहुँचलाई सुदृढ बनाउने विश्वास गरिएको छ । साथै, सार्वजनिक सेवा, निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउन तथा जिम्मेवार अधिकारी र नागरिकबीच संवाद सुदृढ पार्दै सुशासनको प्रत्याभूति दिलाउन यस किसिमका कार्यक्रम प्रभावकारी हुने सहभागिहरूले जनाएका छन्  ।

पूरा भिडियो हेर्नुहोस् :

तस्बिरहरु :

\

  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार