
इलाम : इलामको देउमाई नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई दिगो, समावेशी र सामुदायिक सहभागितामा आधारित बनाउने नीति सार्वजनिक गरेको छ । “टोल विकासमा हामी, पालिकासँग सहलगानी” भन्ने नारालाई मूर्तरूप दिन आगामी वर्षदेखि मागमा आधारित पूर्वाधार निर्माणका योजनामा २५ प्रतिशत लागत साझेदारी गर्ने इच्छुक टोल, समुदाय तथा संघसंस्थालाई प्राथमिकता दिइने भएको छ ।
बुधबार नगरप्रमुख सुरर्यप्रसाद पोख्रेलले नशौं नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
नगरभित्रका सम्पूर्ण सडक सञ्जाललाई क्रमिक रूपमा अल वेदर बनाउन कार्ययोजना निर्माण गरिने र त्यसलाई कार्यान्वयनमा ल्याउने नीति जारी राखिनेछ । नगर यातायात गुरुयोजना अनुरूप नयाँ सडक नीति पनि लागू गरिनेछ, जसले शहरी एवं ग्रामीण सडक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
संघीय सरकारको राष्ट्रिय आवधिक योजनासँग तालमेल राख्दै नगरको आवधिक विकास योजना र मध्यकालीन खर्च कार्ययोजना कार्यान्वयन गरिनेछ। विगतमा सुरु भई अधुरा रहेका विकास आयोजनालाई प्राथमिकतामा राख्दै यथासक्य सम्पन्न गरिने बताइएको छ ।
नयाँ सडक निर्माणको सट्टा विद्यमान सडक स्तरोन्नति र गुणस्तरीकरणमा जोड दिइनेछ । नगरले यसबाट स्रोतको अधिकतम उपयोग र वातावरणमैत्री पूर्वाधार विकासलाई सुनिश्चित गर्न खोजेको छ ।
सडक स्तरोन्नतिको सन्दर्भमा देउमाई नगरपालिकाले संघ तथा प्रदेश सरकारसँग समन्वय गर्दै देउराली–रत्न सुरुङ्ग–मंगलबारे–कटेज–फुटुक–इलाम गोलाखर्क सडक (सुवास रत्न सडक), नेपालटार–मंगलबारे सडक, मंगलबारे–गजुरमुखी सडक, देउराली–विन्दुले–मंगलबारे सडक र गाग्रेभञ्ज्याङ–बेलासे सडक लगायतका महत्वपूर्ण सडकहरुमा गुणस्तरीय सुधारको कार्यलाई निरन्तरता दिने नीति अवलम्बन गरिनेछ ।
यस्तै, पैदल यातायात सुगम बनाउनका लागि नगरले झोलुङ्गे पुल विस्तार आयोजनालाई पनि निरन्तरता दिनेछ ।
सम्पूर्ण वडाबाट संकलन गरिएका विकास आयोजनाहरूलाई एकीकृत गर्दै नगर आयोजना बैंक स्थापनाको तयारी गरिएको छ, जसले योजनालाई प्राथमिकताको आधारमा छनोट गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउनेछ ।
समग्रमा, देउमाई नगरपालिकाले स्थानीय आवश्यकता, दीगो योजना र सहभागितामूलक विकासलाई मूल आधार मानी भौतिक पूर्वाधार निर्माणको रणनीति अघि सारेको छ, जसले नगरको समग्र विकासलाई दीर्घकालीन रुपमा सुदृढ पार्ने अपेक्षा गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :
























































