देउमाई नगरपालिकाको स्वास्थ्य क्षेत्रमा जनमुखी नीति : नगर अस्पतालदेखि सुरक्षित मातृत्वसम्म

  नयाँ बुलन्द
210 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नागरिकको स्वास्थ्य सुनिश्चित गर्न बहुआयामिक तथा समावेशी नीति तथा कार्यक्रमहरू अघि सारेको छ । बुधबार नगरप्रमुख  सुरर्यप्रसाद पोख्रेलले नशौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । हाल निर्माणाधीन १५ शैय्याको नगर अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित नगरपालिकाले आगामी वर्षलाई ‘स्वस्थ एवं समृद्ध देउमाई’को रुपमा अघि बढाउने घोषणा गरेको छ ।

नगरपालिका अन्तर्गत मंगलबारेमा निर्माणाधीन नगर अस्पताल आगामी आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न गरी विशेषज्ञ सहितको अत्याधुनिक सेवा सुरु गरिनेछ । सुरक्षित मातृत्वलाई सशक्त बनाउने लक्ष्यसहित चौमासिक गर्भ परीक्षणलाई प्रोत्साहन गर्ने र वडा तहसम्म निशुल्क भिडियो एक्स-रे सेवा विस्तार गर्ने नीतिलाई पनि निरन्तरता दिइनेछ ।

“नगरको इच्छा, आमा–बच्चाको सुरक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै नगरले गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेदेखि जिल्ला अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिनेछ ।

महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई सम्मान गर्दै उनीहरूको सेवा र प्रोत्साहन कार्यक्रमलाई थप सुदृढ गरिनेछ। यस्तै, मानसिक तथा नसर्ने रोग सम्बन्धी जनचेतना र औषधि व्यवस्थापन कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।

आयुर्वेद सेवा विस्तार, योग शिविर सञ्चालन, मातृ-शिशु पोषण कार्यक्रम, र स्वस्थ जीवनशैली अभियानलाई नियमित बनाउने योजना पनि सार्वजनिक गरिएको छ । विपन्न नागरिकलाई गम्भीर रोगको उपचारका लागि यातायात सहयोग निरन्तर दिने नीति यथावत् राखिएको छ ।

बालपोषण भत्ता तथा सुत्केरी स्याहार कार्यक्रमलाई निरन्तरता दिइनेछ भने खोप कार्यक्रमलाई थप व्यवस्थित गर्दै देउमाईलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्ने लक्ष्यलाई निरन्तरता दिइनेछ ।

क्षयरोगमुक्त पालिका घोषणाका लागि चालु कार्यक्रमलाई निरन्तरता दिइनेछ । यस्तै, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र खोप कार्यक्रमलाई संघीय नीतिसँग समन्वय गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आपूर्ति, अनुगमन र नतिजामा आधारित रणनीति अवलम्बन गरिने र त्यसअनुसार स्वास्थ्यकर्मीको सेवा सुविधा तथा निरन्तरतासँग प्रत्यक्ष सम्बन्ध जोडिने बताइएको छ ।

देउमाई नगरपालिकाले आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रलाई जनउत्तरदायी बनाउँदै सबै वर्ग र समुदायको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने दिगो लक्ष्यसहितका कार्यक्रमहरू अघि सारेको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार