इलाम : इलामको देउमाई नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महत्वाकांक्षी नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार नगर प्रमुख सुरर्यप्रसाद पोख्रेलले नशौं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि, युवालाई उद्यमशील बनाउने र खेलकुद गतिविधिलाई प्रवर्धन गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु अघि सारिएका छन् । नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा ‘नगर शिक्षा पदक’बाट सम्मान गर्ने नीति लिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय भर्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउने र विषयगत क्षमता विकासका लागि प्रविधिमैत्री शिक्षण प्रणालीको प्रवर्द्धन गरिने बताइएको छ ।
अन्तरनीहित प्रतिभा पहिचान गरी विद्यार्थीको समग्र विकास गर्ने नीति लिँदै देउमाईभित्र सञ्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ। त्यस्तै, विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति कोषमार्फत शैक्षिक पहुँच सुनिश्चित गरिनेछ ।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार तथा स्तरोन्नतीका लागि संघीय, प्रदेश र दातृ निकायहरूसँग समन्वय गर्दै कार्यान्वयन अघि बढाइनेछ। धार्मिक र परम्परागत विद्यालयको संरक्षण तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा समेत नगरपालिकाले जोड दिने भएको छ ।
नगर प्रमुख छात्रवृत्ति कोषबाट ईन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दिइँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने जनाइएको छ । यस्तै, ‘हाम्रो देउमाई’ पाठ्यपुस्तकलाई कक्षा १ देखि ८ सम्म निशुल्क रुपमा सामुदायिक तथा निजी विद्यालयमा लागु गरिने नीति पनि यथावत् राखिएको छ ।
महिला तथा किशोरीहरुको सहजता ध्यानमा राख्दै स्यानिटरी प्याड वितरण कार्यक्रमलाई समेत विस्तार गरिने भएको छ । यस कार्यक्रमअन्तर्गत सामुदायिक, संस्थागत विद्यालय र मंगलबारे बहुमुखी क्याम्पसका छात्रालाई समेटिनेछ ।
शैक्षिक पर्यटन प्रवर्द्धनको उद्देश्यले प्राविधिक धारमा सिभिल इञ्जिनियरिङ (भानुभक्त मा.वि.), पशु विज्ञान (जितपुर मा.वि.) र विज्ञान संकाय (खान्द्रुङ्ग मा.वि.) सञ्चालनमा रहेका कार्यक्रमलाई आवश्यक साधन-स्रोतको व्यवस्थापन गर्दै निरन्तरता दिइने बताइएको छ ।
युवालाई उद्यमी बनाउने उद्देश्यले व्यवसायिक तथा सीपमूलक तालिम र प्रविधि हस्तान्तरणका कार्यक्रम पनि आगामी वर्ष जारी रहनेछ । खेलकुदको प्रवर्द्धनका लागि नगरमा आवश्यक पूर्वाधार निर्माण तथा नगर, जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिनेछ ।
नगरस्तरीय छात्रा फुटबल, छात्र भलिबल तथा कक्षा १ देखि ८ सम्मका छात्र फुटबल प्रतियोगिता पनि नियमित सञ्चालन हुनेछन् । खेलकुद गतिविधिमा सहभागिता बढाई युवालाई लागुपदार्थ दुर्व्यसनबाट जोगाउने नीतिमा नगरपालिकाले विशेष ध्यान दिने बताइएको छ ।
समग्रमा, देउमाई नगरपालिकाले शिक्षा, युवा र खेलकुदलाई समृद्धिको आधार मानेर आगामी वर्षका लागि कार्यन्वयन योग्य र समावेशी कार्यक्रम अघि सारेको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :