देउमाई नगरपालिकाको १०औँ नगरसभा: समुन्नत र समृद्ध नगर निर्माणमा प्रतिबद्धता (नीति तथा कार्यक्रमको पूर्ण पाठ)

  नयाँ बुलन्द
1.1k Shares

इलाम : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिमा पारित भएको छ ।  नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले १० औँ नगरसभामा बुधबार प्रस्तुत उक्त नीति तथा कार्यक्रमले १८ प्रमुख क्षेत्र समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी, कृषि, पर्यटन, ऊर्जा, विपद् व्यवस्थापन लगायतका १८ क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ। निति तथा कार्यक्रममा विकासमार्फत समृद्ध र समावेशी नगर निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय आवश्यकता, संविधान, कानुन, दीर्घकालीन योजना तथा नागरिक अपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको नगर प्रमुख पोख्रेलले बताए ।

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता

शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पुरस्कार, छात्रवृत्ति कोषको निरन्तरता, विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रम, ‘हाम्रो देउमाई’ पाठ्यपुस्तक लगायतका कार्यक्रम अघि बढाइनेछ।

स्वास्थ्य क्षेत्रमा निर्माणाधीन नगर अस्पताल १५ शैय्यामा सञ्चालन गरिने, मातृ तथा नवशिशु सेवा, नि:शुल्क एम्बुलेन्स, खोप कार्यक्रम, मानसिक स्वास्थ्य र योग सेवा विस्तार गर्ने नीति समावेश गरिएको छ। पाठेघरको क्यान्सर स्क्रिनिङ र महिला स्वास्थ्य स्वयंसेविकालाई थप सशक्त बनाउने नीति पनि अगाडि सारिएको छ।

भौतिक पूर्वाधारमा ‘सहलगानी’ नीति र अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता

‘टोल विकासमा हामी, पालिकासँग सहलगानी’ नारासहित मागमा आधारित पूर्वाधार निर्माणमा टोल/समुदायले २५% लागत योगदान गर्ने नीति यथावत् राखिएको छ ।

सडक, पुल, झोलुङ्गे पुल, नगर यातायात गुरुयोजना, अधुरा योजना सम्पन्न, नगर आयोजना बैंकमार्फत परियोजनाको प्राथमिकताक्रम निर्धारण गर्ने उल्लेख गरिएको छ ।

रोजगारी सृजना र उद्यम विकास

रोजगार सेवा केन्द्रलाई श्रम बैंकका रूपमा विस्तार, स्वरोजगार केन्द्रित तालिम, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सशक्तिकरण, श्रमअनुसार निर्माण सामग्री तथा उपकरण व्यवस्थापनको कार्य अगाडि सारिनेछ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास, सुरक्षित आप्रवासन र राष्ट्रिय रोजगार कार्यक्रमलाई एकीकृत गरेर अघि बढाइने जनाइएको छ।

कृषिमा आत्मनिर्भरताबाट निर्यातसम्मको लक्ष्य

‘प्रांगारिक खेती अभियान’, नगदेबाली, मौरीपालन, माछा पालन, झ्याले आलु र छुर्पी प्रवर्धन, कृषक परिचयपत्र, सीप हस्तान्तरण, पशु नस्ल सुधार, र स्थानीय उत्पादनको बजारीकरण प्राथमिकतामा छन्।

खोरियत मुक्त पालिका बनाउने, वन्यजन्तु प्रकोप न्यूनीकरण, माटो परीक्षण र कृषि विज्ञको परिचालनसमेत उल्लेख गरिएको छ।

पर्यटन, विद्युत र वातावरण संरक्षण

देउमाईको प्रमुख गन्तव्यहरू (झ्याउपोखरी, सिद्धिथुम्का, लालीगुँरास क्षेत्र) को संरचनागत विकास, साहसिक पर्यटन प्रवर्धन र प्रचार-प्रसारमा जोड दिइनेछ।

‘हाम्रो देउमाई उज्यालो देउमाई’ नारा अन्तर्गत पूर्ण विद्युतीकरणको तयारी तथा वैकल्पिक ऊर्जा प्रवर्धनको नीति पनि समावेश छ।

विपद् व्यवस्थापन र वातावरणीय सन्तुलन

जलाधार संरक्षण, वृक्षारोपण, बायो इन्जिनियरिङ प्रविधिको प्रयोग, विपद् उत्थानशील योजना, वातावरण प्रभाव मूल्याङ्कनलगायत उपायहरूलाई सशक्त बनाउने नीति अघि सारिएको छ ।

लक्षित वर्ग र समावेशीकरणमा गम्भीरता

महिला, अपाङ्ग, दलित, गरिब र सिमान्तकृत वर्गका लागि सामाजिक सुरक्षा, छात्रवृत्ति, आत्मनिर्भरता तालिम, अपाङ्ग सहयोग सामग्री, पुनःस्थापना केन्द्रको प्रवर्द्धन, बालमैत्री पालिका निर्माण लगायतको स्पष्ट योजना अघि सारिएको छ ।

सूचना, सञ्चार, राजस्व र सहरी विकास

ई–गभर्नेन्सलाई प्रोत्साहन गर्दै सेवा प्रवाह डिजिटल बनाइने, सूचना केन्द्र स्थापना, पत्रकार प्रोत्साहन, सञ्चार नीति कार्यान्वयन र सूचना प्रवाहको पारदर्शिता सुनिश्चित गरिने छ ।

राजस्वतर्फ कर दर नबढाई करको दायरा फराकिलो बनाउने, स्थानीय स्रोत–साधन परिचालन, उद्योग र सहकारीका लागि कोपो एम.आई.एस. प्रणाली कार्यान्वयन, नियमन र मर्जरको नीति स्पष्ट गरिएको छ।

सहकार्य र सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने

नगर प्रहरीमार्फत शान्ति–सुरक्षा मजबुत बनाइने, छिमेकी पालिकाहरूसँग सहकार्य गर्दै पर्यटन, सडक, जलस्रोत, विपद् व्यवस्थापन लगायत बहुक्षेत्रीय सहकार्य प्रवर्द्धन गरिने घोषणा गरिएको छ ।

यसेबीच नगरसभामा बिहीबार बजेट पेश गर्ने सूचना अधिकारी गोविन्द बाँस्तोलले  जानकारी दिए ।

नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार