पाँचथरः पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली फिदिम आउने खबरले पाँचथरका जनता तथा कार्यकर्तामा उत्साह छाएको छ ।
“भ्रष्टाचार,वेथिति र विसंगतीको विरोध गरौं,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गरौं,समाजवादी दिशामा अघि बढौं” भन्ने मुल नाराका साथ वैशाख २७ गते हुने विशाल जनसभाको पूर्व तयारी पुरा भइसकेको जनसभा प्रचारप्रसार संयोजक तथा जिल्ला सह-इन्चार्ज दिनेश लावतीले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र पाँचथर जिल्ला समितिको आयोजनामा हुने विशाल सभामा गणतन्त्र नेपालका संस्थापक प्रधानमन्त्री जनक्रान्तिका नायक प्रचण्डको प्रमुख उपस्थितिमा विशेष सम्वोधन हुने कार्यक्रमको तीव्रताका साथ अन्तिम तयारी गरिएसंगै पार्टी कार्यकर्ता माझ उत्साहको माहोल देखिएको छ । पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता स्वागतको तयारीमा जुटिरहेका छन् । जिल्ला भरका १० हजार भन्दा वढी कार्यकर्ता र सहभागी उपस्थिति रहने कार्मायक्रममा एक सय ५० वढी स्वयंसेवक परिचालन हुने साथै व्यापक पार्टी प्रवेशको कार्यक्रम समेत रहेको जनाइएको छ ।जनसभामा पार्टीका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल,प्रदेश स्तरीय केन्द्रिय सदस्यहरु,प्रदेश पदाधिकारीहरु, प्रदेश कमिटी सदस्यहरु,जिल्ला तथा अन्तर जिल्लाका नेताको पनि उल्लेख्य उपस्थिति हुने प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।
पूर्वी नेपालको सुन्दर नगरी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम बजारमा प्रचण्ड कमरेडको आगमनले जिल्लामा पार्टीलाई नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको पार्टीका केन्द्रिय सदस्य एवं १ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले बताए । वर्तमान सरकारको विकृती,विसंगती,चरम वेथिति र भ्रष्टाचारको विरुद्धमा प्रमुख प्रतिपक्षी दलको हैसियतले आयोजना गरिएको खवरदारी सभाले गैरजिम्मेवार सरकारको उदाङ्गो चरित्र आम नागरिकले प्रष्ट बुझ्ने अपेक्षा गरिएको उनले बताए । स्थानीय कार्यकर्तामा मनोबल बढाउने, पार्टीको सांगठनिक मजबुतीका लागि ऊर्जा दिने,स्थानीय मुद्दाहरूको बारेमा राष्ट्रिय नेताको ध्यानाकर्षण गराउने रणनीति लिइएको यस सभामा जिल्लामा राजनीतिक गति थपिने विश्वास कार्यकर्ताहरूको छ । यसले संगठन बलियो बनाउने मात्र होइन, स्थानीय जनताका समस्या बुझ्न पनि सहयोग पुर्याउने जिल्लाका कार्यकर्ताको बुझाइ छ ।
सुशासन र भ्रष्टाचार विरुद्धको अभियानका अगुवा फिदिम आउने प्रचारप्रसाले पाँचथरका बासिन्दाहरूले उत्सुकतापूर्वक हेरेका छन् । जिल्लामा उत्साहजनक वातावरण सिर्जना भएको छ ।पार्टी कार्यकर्ता, स्थानीय नेता र सर्वसाधारणमा उनको आगमनप्रति व्यापक चासो देखिएको छ ।
प्रचण्डको आगमन माओवादी पार्टीका लागि मात्र नभई, सम्पूर्ण पाँचथरका जनताको लागि गौरवको क्षण हुने पार्टी जिल्ला इन्चार्ज सीता थेवेले बताइन् । पार्टी अध्यक्षसहितका केन्द्रिय नेताहरुलाई स्वागत गर्न विहान फिदिमस्थित अदालत लाईन बरडाँडा,आहालगैरी (क्याम्पस मोड) र शनिवारे हाटबाट विभिन्न जातजातीका झाँकी,केलाङ नाचसहित जुलुसर्यालीको यात्रा तय गरिएको छ । उक्त र्याली फिदिम माविको खेलमैदानमा पुगरे विशाल जनसभामा परिणत हुने र सभालाई प्रमुख अतिथि प्रचण्डले सम्वोधन गर्नुहुने जनाइएको छ ।