काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई आफूसँग पाकिस्तानसँग आत्मरक्षाको अधिकार रहेको बताएका छन् । अमेरिकाले पाकिस्थानलाई भारतमाथि आक्रमण नगर्न चेतावनी दिएपछि प्रधानमन्त्री शरिफले यस्तो जवाफ दिएका हुन् ।
उनले पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद–५१ बमोजिम आत्मरक्षाको अधिकार रहेको सूचित गरेका स्मरण गराएका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार शरिफले भारतद्वारा गरिएका मिसाइल र ड्रोन आक्रमणहरूलाई कडा शब्दमा निन्दा गरेका छन् । यी आक्रमणमा ३१ जना निर्दोष नागरिकको मृत्यु, ५७ जना घाइते र नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शरीफले भने, ‘भारतका आक्रमणहरूले पाकिस्तानको सम्प्रभुता र भौगोलिक अखण्डताको उल्लंघन मात्र गरेका छैनन्, यसले दक्षिण एशियाको शान्ति र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको छ ।’ पाकिस्तानको सम्प्रभुता र अखण्डता जोगाउन हरेक मूल्य चुकाउने संकल्प पनि उनले दोहो¥याएका छन् ।
अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार प्रधानमन्त्री शरीफलले राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाको सुरक्षा स्थितिप्रति देखाएको चिन्तालाई स्वागत गरेका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका दक्षिण एशियाको वर्तमान परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र क्षेत्रीय शान्ति र स्थायित्वको पक्षधर रहेको बताएका छन् । उनले दुवै पक्षलाई तनाव कम गर्न मिलेर काम गर्न आग्रह गरेका छन् ।
अमेरिकाले दुवै देशबीच सीधा संवाद र सञ्चार कायम राख्न जोड दिएको र आतंकवादीहरुलाई समर्थन नगर्न भनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भारतले बुधबार बिहान पाकिस्तान र आजाद जम्मू–कश्मीरमा आक्रमण सुरु गरेको थियो, जसलाई इस्लामाबादले ‘युद्धको खुला घोषणा’ भनेको छ ।
भारतले मस्जिददेखि जलविद्युत परियोजनासम्मका ६ वटा स्थानमा आक्रमण गरेको थियो । सो आक्रमणमा ३१ जना सर्वसाधारण, जसमा बालबालिका पनि थिए, शहीद भएका छन् भने ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
यसको जवाफमा, पाकिस्तानी सेनाले भारतीय वायु सेनाका पाँच जेट खसालेको, सातवटा ड्रोन ध्वस्त पारिएको, एक ब्रिगेड मुख्यालय र धेरै चेकपोस्टहरू नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाले यी सबै नियन्त्रण रेखा नजिकका स्थानमाहरूमा भएको बताएको छ ।
पाकिस्तानले बिहीबार राति भारतको विभिन्न १३ स्थानमा ड्रोन तथा मिसाइल आक्रमण गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, ती आक्रमणहरु भारतले असफल बनाएको जनाएको छ । आक्रमणको क्षति भने सार्वजनिक गरिएको छैन । तर, बिहीबारको बमबारीले भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ ।