
पाँचथरः फाल्गुनन्द गाउँपालिकामा आयोजना गरिएका दुईवटा महोत्सव बुधवार सम्पन्न भएका छन् । सेहोनाम्लाङ साँस्कृतिक तथा पर्यटन संस्था (फाकुमि) फाल्गुनन्द- ५ पाँचथरको आयोजनामा चैत्र २४ गतेदेखि संचालन गरिएको मिनी महोत्सव बुधवार सम्पन्न भएको छ । ओझेलमा परेको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटन क्षेत्र सेहोनाम्लाङको प्रचार–प्रसार गरेर पर्यटन प्रवद्र्धनको विकास गर्ने उदेश्यले गत वर्षबाट थालनी भएको महोत्सव दोस्रो संस्करण फाल्गुनन्द,मिक्लाजुङ र कुम्मायक गाउँपालिकासंग जोडिएको सेहोनाम्लाङ (छाला सुकुवा) क्षेत्र नजिकै यस पटक सिङ्हाङ गैरी भञ्ज्याङमा संचालन गरिएको थियो । उक्त महोत्सव पाँचथर प्रदेश सभा ‘ख’ का सांसद इन्द्रबहादुर आङ्वो मौसमको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । अतिथि आङ्वोले सेहोनाम्लङको भ्रमणपछि उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै यस क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न पहल गरिने जनाए ।
महोत्सवको पहिलो दिन सेहोनाम्लाङ क्षेत्रको भ्रमण र अवलोकनपछि उद्घाटनसंगै भलिवल प्रतियोगिता शुरु भएको थियो भने लेखक तथा अध्येता मोहनचन्द्र चोम्जोङद्वारा लिखित ‘खाऊमा’ पुस्तकको प्रमुख अतिथिबाट विमोचन गरियो । कार्यक्रममा केलाङ प्रतियोगिता, धाननाच,नृत्य प्रतियोगिता,भलिबल खेललगायत विभिन्न प्रतियोगिता संचालन गरिएको थियो । समापनको अन्तिम दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति (तिल बिक्रम नेम्वाङ) वैरागी काईलालाई विभिन्न जातजातीका झाँकी,नाच प्रदर्शनका साथ नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ ।समापनका प्रमुख अतिथि मुन्धुमविद् काईलाले सेहोनाम्लाङ( छालसुकुवा) का बारेमा कहानी सुनाए । महोत्सवमा विभिन्न प्रतियोगितामा विजयी हुने सहभागीहरुलाई पुरस्कार वितरण गरिएको मुल आयोजक संस्थाका अध्यक्ष देउमान आङ्देम्वे (डिएम) ले जानकारी दिए ।
किराँत मुन्धुममा आधारित यस ठाउँको प्रचारप्रसार,संरक्षण र किराँत धर्मावलम्वीहरुको आस्थाको केन्द्र,पवित्र धार्मिक स्थलको रुपमा विकाश गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । ‘सेहोनाम्लाङ’ को महत्व र महिमासंगै मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पति भएको मानिने ठाउँ सेहोनाम्लाङ (छाला सुकुवा डाँडा) सहितका महत्वपूर्ण भू-भाग ओझेलमा परेको हुँदा यस क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको छ । सेहोनाम्लाङ साँस्कृतिक तथा पर्यटन संस्था (फाकुमि) फाल्गुनन्द- ५ पाँचथरको आयोजना र पीवाईसी फाल्गुनन्द ५ र मिक्लाजुङ १ नम्बर वडामा रहेका श्रजनशील,सेक्मुरी र सेहोनाम्लाङ क्लव सहआयोजनामा विभिन्न कार्यक्रम संचालन गरिएको थियो ।
राँकेमा साहित्य महोत्सव
यसैबीच, चैत २५ र २६ गते फाल्गुनन्द ३ नम्बर वडास्थित राँके बजारमा ‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ को आयोजनामा फाल्गुनन्द साहित्य महोत्सव सम्पन्न गरिएको छ । गाउँपालिका भित्र रहेका भाषा,साहित्य,वाङ्मय,कला तथा संस्कृतिको प्रवर्धन र संरक्षण साथै पर्यटन,पूर्वाधार विकाश एवं पालिकालाई समृद्ध बनाउने उदेश्यले ‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ ले पहिलो पटक साहित्य महोत्सवको आयोजना गरेको प्रतिष्ठानका कुलपति समदर्शी काईंला (मनकुमार लावती ) ले जानकारी दिए ।यस पालिकामा गत मंशीर महिनाबाट प्रज्ञा प्रतिष्ठान स्थापना भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति,नेपाली साहित्यका मूर्धन्य साहित्यकार कवि तथा मुन्धुमविद (तिलबिक्रम नेम्वाङ वैरागी काईलाद्वारा उद्घाटन भएको थियो ।
राँकेमा संचालन भएको साहित्य महोत्सवमा पनि प्रमुख अतिथि वैरागी काईलालाई नागरिक अभिनन्दनसंगै विविध सांस्कृतिक झाँकीहरुसहित बजार परिक्रमा गर्दै अभिनन्दन पत्र र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । महोत्सव उद्घाटनसंगै उनले ‘जीवनलाई पछाडी फर्केर हेर्दा’ विद्धत वक्तव्य समेत प्रस्तुत गरे । विशेष अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठकुरसिं नेम्वाङको उपस्थिति रहेको साहित्यिक महोत्सवमा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान स्थापना गरेकोमा प्रमुख अतिथि तथा विभिन्न ठाउँबाट सहभागी कवि तथा सर्जकहरुले धन्यवाद दिदै प्रशंसा गरे।
महोत्सवमा कविता कस्तो हुनुपर्छ,पर्यटन,पर्यावरण र साहित्य मातृभाषा पठनपाठनको सकस, याक्थुङ साहित्यमा पहिचान,राजनीति निकास र देशको विकासलगायत विभिन्न शिर्षकमा प्यानल डिस्कोर्स गरिएको थियो ।
हरियो समाजवाद,राजनीति र साहित्यमा अमर नेम्वाङ लिम्बू,लिम्बू चलचित्रको वर्तमान अवस्थालगायतका कार्यपत्र प्रस्तुत गरिएको थियो । विभिन्न ठाउँबाट डेढ एक दर्जन बढी चर्चित कवि,साहित्यकार तथा गजलकार मार्फत कविता र गजल वाचनसंगै हिमालयन कल्चरल व्याण्डको लाईभ सो सदावहार लोकभाका तथा साँगीतिक कार्यक्रम पनि गरिएको थियो ।महोत्सवमा विभिन्न लेखकले सृजना गरेका निवन्ध संग्रह विमोचन र विमोचित पुस्तक माथि लेखकीय वक्तव्य दिइएको थियो ।






















































