चुलाचुली रंगमञ्चमा पुनः आङ्थुपो

चुलाचुली :  ग्रामीण क्षेत्रमा रहेर नाट्यकलामा राष्ट्रियस्तरमै चर्चा कमाउँदैगरेको इलामको चुलाचुलीस्थित चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो पुनः चयन भएका छन् ।

बिहिबार भएको ११औं साधारणसभाले पत्रकार तथा नाट्यकर्मी आङ्थुपोको नेतृत्वमा सात सदस्यीय मूल कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा रमिला राई, सचिवमा पत्रकार सन्तोष गिरी, सह–सचिवमा पूजन बस्नेत र कोषाध्यक्षमा हेमराज विश्वकर्मा चयन भएका छन् ।

सदस्यहरूमा मनिष मगर र सुनिता दर्जी चुनिएको सचिव गिरीले जानकारी दिए । यो रंगमञ्चले गाउँका मौलिक कथा–व्यथा नाटककै माध्यमबाट देश–दुनियाँसम्म छर्ने प्रयत्न गरिरहेको छ ।

राजनीति, पत्रकारिता, साहित्य, संगीत र कला–संस्कृतिको केन्द्र देशको राजधानीलाई मात्रै मान्ने सोच परिवर्तन गर्दै चुलाचुलीको नाट्य अभ्यास १५ वर्षयता जिल्ला सदरमुकामभन्दा पनि निकै टाढाको गाउँमा क्रियाशील छ । गाउँलेका दुःख–पीडामा कलाको रङ भरेर छरपस्ट बनाउन अथक मेहनत गरिरहेका छन् अध्यक्ष चेतनसहित यहाँका कलाप्रेमी युवा ।

२०६५ सालमै नाटकको सर्कलमा आबद्ध भएर यहाँका युवाले ‘नयाँ बाटो–नयाँ पाइला’ नाट्य समूह बनाएका थिए । सामाजिक रूपान्तरणका लागि उनीहरूले गठन गरेको यो समूह २०७० सालमा चुलाचुली रंगमञ्चको रूपमा आएको हो ।

‘नेपाली रंगकर्मीबीचकै दृष्टि बदल्न पनि हामीले हाम्रो मौलिक कथा भन्नु छ, नाटक देखाउनु ठूलो कुरा होइन, नाटक गर्नेहरूको अस्तित्व समाजले स्वीकार्ने वातावरण बनाउनु चाहिँ आवश्यक छ,’ अध्यक्ष चेतन भन्छन्, ‘त्यो वातावरण भनेको रंगकर्मलाई दिगो बनाउन गाउँमै नाट्यघर स्थापना गर्नुपर्छ भन्ने हो । जुन हाम्रो एउटा महत्वपूर्ण लक्ष्य हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार