नाटक ‘घरजम’ आजदेखि इलाममा प्रदर्शन हुँदै

  नयाँ बुलन्द
196 Shares

इलाम : राष्ट्रिय नाटक महोत्सव-२०८१ मा देशभरकै पहिलो भएको नाटक ‘घरजम’ आजदेखि इलाममा प्रदर्शन हुँदैछ । इलामका साहित्यकार माधव भण्डारीद्वारा लिखित घरजमलाई रङ्गमञ्चमा उतारेर चेतना नाट्य समूहले प्रस्तुत गर्न लागेको हो ।

नाटक इलाम सदरमुकामस्थित नारी विकास संघको सभाहलमा १७ असोजसम्म नाटक प्रदर्शन हुनेछ । नाटकले विस २००८ सालदेखि महिलाले समाजमा गरेको संषर्घ र शिक्षा क्षेत्रमा गरेको योगदानका विषयमा चित्रण गरेको नाटकका निर्देशक अन्वेस थुलुङ्गले बताए ।

स्वर्गीय विपी कोइराला प्रधानमन्त्री भएका समयमा इलामबाट हुर्कीएकी नेतृ सरस्वती राई र भारतको दार्जिलिङबाट इलामसम्म आएर शिक्षामा योगदान गर्ने डा. लक्कीदेवी सुन्दासजस्ता महिलाले इलाममा सरस्वती कन्या विद्यालय स्थापना गरेर शिक्षाको ज्योति फैलाउन गरेको कामलाई नाटकको दृश्यमा देखाइएको छ ।

 नाटक करिब एक घण्टाको रहेको छ । नाटकमा सरिता राई, भावना खपाङ्गी मगर, सुशान्त चापागाईं, समीर राई, रेविका तोलाङ्गी, आशिका सोतेम्बा राई, भूमिका सुब्बालगायतको अभिनय छ । त्यस्तै बाध्यवादन तथा गीतमा निर्मल राई र प्रितिका मुखिया रहेका छन् ।

हरिप्रसाद-कल्याणी रिमाल राष्ट्रिय नाट्य-संगीत प्रतिष्ठानले एक साताअघि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव–२०८१ मा पहिलो भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार