इलाम : राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१’ भारतको दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक राजा पुनियानीलाई प्रदान गरिने भएको छ ।
सम्मान पुरस्कार आउँदो २४ भदौमा दिव्य बिक्रम नेम्बाङको पाँचौं स्मृति दिवसका दिन झापाको विर्तामोडमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले जानकारी दिए ।
सो पुरस्कारको राशी तीस हजार रहेको छ । २०७६ सालमा स्थापित स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने यो पुरस्कार यसअघि प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बाले प्राप्त गरेका थिए ।
१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका दिव्य बिक्रम नेम्बाङ बैरागी काइँला, ईश्वरवल्लभ र ईन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’ साहित्यिक पत्रिकाका प्रकाशक थिए ।
अध्ययन र निर्वासनको क्रममा लामो समय दार्जीलिङ बसेका नेम्बाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान पुर्याएका थिए ।