काठमाडौं । बंगलादेशमा आरक्षणविरूद्धको विषयमा चर्किएको सरकारविरोधी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हसिनाको १५ वर्षे सत्ता यात्रामा पूर्णविराम लाग्यो । ७६ वर्षीय हसिनाले चार पटक लगातार चुनाव जित्दै सत्ताको यात्रा गरेकी थिइन । हसिना सन् २००९ देखि निरन्तर सत्तामा थिइन् । १५ वर्षे सत्ता चलाएकी हसिनामाथि शक्तिको दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले सम्हालेको छ । यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । राजनीतिक संकटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएका पछि बंगलादेशको लोकतान्त्रिक यात्रा अनिश्चित बनेको छ ।