इलामः गायिका अञ्जु पन्तको स्वरमा रेकर्ड भएको गीत उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गजलकार शिशिर भट्टराईको शब्द,रचना र सङ्गीतकार मुरारी गुरागाईंले संगीत गरेको गीत करीव चार वर्ष पहिले मुरारी गुरागाईको अफियल युट्युब च्यानलबाट सार्वजनिक भएको भए तापनि हाल दुई हप्ता अघि भने पन्तको युट्युब च्यानलमा राखिएको थियो । उक्त गीत पन्तको च्यानलमा आएपछि रचनाकार अन्जान भुटानीले आफ्नो रचना चोरी भएको दावी गरेका छन् । जब उनले सामाजिक सञ्जालमा दावी गर्दै यस गीतका सर्जकहरुलाई प्रश्न चिन्ह खडा गरे लगत्तै रचनाकार भट्टराई,गायिका पन्त र संगीतकार गुरागाईले आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेका छन् । यस्तो छ प्रेस विज्ञप्ति ।
प्रेस विज्ञप्ति
सर्जकको सिर्जना चोरी भएको सम्बन्धमा ।
गजलकार शिशिर भट्टराईको रचना “हजुर आउनु पँधेरीमा” भन्ने गजल वि.स. २०७० जेठ २९ गते लेखिएको (पाण्डुलिपिमा सुरक्षित) हो। उक्त गजललाई केही शब्दहरु सच्याई (पुर्नलेखन) सन् २०१८ मा सङ्गीतकार मुरारि गुरागाईंमा प्राप्त भएको हो । सङ्गीतकार मुरारि गुरागाईंको सङ्गीत र फणिन्द्र राईको सङ्गीत संयोजनमा सन् २०१९ मा अकष्टिक रेकर्डिङ स्टुडियो, नक्सालमा गायिका अन्जु पन्तको आवाजमा रेकर्ड भएको थियो । सोहीअनुसार उक्त गजलको अडियो तथा भिडियो निर्माता मुरारि गुरागाईं रहेको र उहाँले नै म्युजिक भिडियो बनाई Saru Murari Guragain YouTube Channel मा चार वर्ष अगाडी राखिएको थियो र हालसम्म पनि उक्त च्यानलमा छँदैछ । उक्त च्यानलमा आएपछि प्रकाशन भएका समाचारहरु र त्यस मितिका सामाजिक सञ्जालहरुमा यससम्बन्धिको चर्चा अहिले पनि हेर्न सकिने छ । यो गजल अत्यन्तै राम्रो बनेको तर अझै पनि श्रोता दर्शकमाझ नपुगेको हो कि भन्ने लागेर गजलकार, सङ्गीतकार, निर्माता र गायिकाको सहमतिमा एक हप्ता अघि Anju Panta Official Youtube Channel मा राखिएको छ । यसरी पुनः अर्को च्यानलमा राखिएपछि गजल चोरी भएको भन्ने कमेन्टहरू आउन थाले । यस्ता कमेन्टहरु आएपछि यसमा हाम्रो टिमको गम्भीर ध्यानाकर्षण भएको छ । तत्पश्चात् थाहा हुन आयो कि, नेपाल मिडिया ग्रुप प्रिजेन्ट्स भनी नेपाल मिडिया भन्ने युट्युव च्यानलमा गजलको सम्पूर्ण भाग हुबहु राखी अरुकै सङ्गीत र स्वरमा रेकर्ड गरी म्युजिक भिडियो समेत बनाई एक वर्ष अघि मात्र राखिएको रहेछ । अहिले आएर उल्टै हामी माथि नै चोरी गरेको भनी सामाजिक सञ्जालमा प्रस्तुत भएको देख्दा हामी आश्चर्यमा परेका छौं । यस गजलका मौलिक सर्जक शिशिर भट्टराई रहेको कुरामा कुनै शड्का छैन तर हुबहु नक्कल गरी रचनाकार अन्जान भुटानीको नाममा नयाँ गीत रेकर्ड तथा प्रसारण गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसरी जानाजान अरुको सिर्जनालाई चोरी गर्नु एक अपराध मात्र होइन, स्रष्टा माथिको अन्याय पनि हो। तसर्थ नेपालको प्रतिलिपि अधिकार ऐन-२०५९ अनुसार सत्य तथ्य पत्ता लगाई सिर्जनात्मक सम्पत्तिको चोरी गर्नेहरु माथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछौं । साथै क्षणिक लोकप्रियता र युट्युव भ्युज पाउनकै लागि गरिने यस्ता खालका हर्कतबाट नेपाली सङ्गीत जगतका सम्पूर्ण सर्जक, कलाकार, सङ्गीतकार तथा श्रोता दर्शकहरू समेत सजग रहन आह्वान गर्दछौं ।
२०८१ साउन १८ गते
गायिका अन्जु पन्त
संगीतकार मुरारि गुरागाईं
रचनाकार शिशिर भट्टराई
खासगरी यस्तो बौद्धिक चोरीले न त चोरी गर्नेलाई फाइदा पुग्छ न त नयाँ ज्ञानको सिर्जना नै हुन्छ । त्यसैले यस्तो कार्य कसैले गर्नु उचित नहुँने रचनाकार भट्टराई बताउँछन् ।