इलाम-२ उपनिर्वाचन : चुनावी प्रचारमा ठूला नेताहरुको दौडधूप

इलाम : इलाम-२ मा उपनिर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अहिले राजनीतिक दलका शीर्षदेखि केन्द्रीय तहका नेताहरु निर्वाचन क्षेत्रमा गएर स्थानीयबासीहरुसँग अन्तरक्रियामा जुटिरहेका छन् । चुनाव प्रचारका लागि पूर्वप्रधानमन्त्रीदेखि वहावाला मन्त्रीहरुको समेत इलाम दौडधूप बढेको छ । आफ्ना उम्मेद्वारलाई जिताउन प्रचारप्रसारदेखि चुनावी सभालाई सम्बोधन गर्न नेताहरु निर्वाचन क्षेत्रमा खटिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वारले निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् । उनीहरुका शीर्ष नेताहरु नै निर्वाचन क्षेत्रमा खटिएर मतदाताहरुलाई प्रभावित पार्न प्रचारप्रसारमा व्यक्त भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पार्टीका उम्मेद्वार सुहाङ नेम्बाङलाई मत इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारे बजार पुगे । त्यहाँ एमाले र माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुहाङका लागि भोट मागे ।

उनले इलामको विकास गर्नका लागि सुहाङलाई जिताएर पठाउन मतदाताहरुलाई अपिल गरे । ‘अहिलेसम्मको सबै विकासको कामको नेतृत्व एमालेले गरेको छ । अब पनि यहाँको विकास गर्न चाहनुहुन्छ भने एमालेलाई भोट दिनुहोस्, सुहाङलाई भोट दिनुहोस्, सूर्यलाई भोट दिनुहोस्’ अध्यक्ष ओलीले भने, ‘सुहाङले हारे भने इलामले हार्नेछ । त्यसैले इलामले जित्नका लागि पनि सुहाङले जित्नुपर्छ ।’

ओलीसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल, स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेश पूर्वमुख्यमन्त्री शेरधन राईलगायत नेताहरु मङ्गलबारे पुगेका थिए  । एमालेको चुनावी अभियान पार्टी स्थायी कमिटि सदस्य एवम् इलाम इन्चार्ज शिवमाय तुम्बाहाम्फेको कमाण्डमा चलिरहेको छ । एमाले उम्मेद्वार सुहाङलाई जिताउन माओवादी केन्द्र र नेकपाका नेताहरु समेत चुनावी अभियान खटिएका छन् ।

उता आफ्नो उम्मेद्वारलाई जिताउन नेपाली कांग्रेसका शीर्ष नेताहरुको दौडधूप राम्रै छ । कांग्रसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेद्वार बनाएको छ । चुनावी प्रचारका लागि गत सोमबार पार्टीका नेता शेखर कोइराला इलाम सदरमुकाममा कार्यकर्ता भेटघाटमा उपस्थित भए । उहाँले यस पटक कांग्रेलाई हार्ने छुट नभएको बताउँदै एकजुट भएर जित निकाल्न निर्देशन दिए । कोइराला मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङदेनसँग आशिर्वाद ग्रहण गरी काठमाडौं फर्किए ।

चुनावी प्रचारकै लागि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा शुक्रबारदेखि इलाम आउँदैछन् महामन्त्रीद्वयले शनिबार इलाम सदरमुकाममा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । महामन्त्री थापा यसअघि पनि फाकफोकथुम गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गरी फर्किएका थिए । चुनावी प्रचारकै लागि पूर्वमहामन्त्री सशाङ्क कोइराला बिहीबार इलाम आउनेछन् भने नेता कोइराला १० गते इलाम आउने कार्यक्रम तया भएको कांग्रेसले जनाएको छ ।

कांग्रको चुनावी अभियानमा अहिले सहमहामन्त्री भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य डिला सङ्ग्रौलासहित पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटालगायत जिल्लाका सभापतिहरु फिल्डमा खटिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार मिलन लिम्बूलाई जिताउन पार्टी सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित अन्य मन्त्रीहरु चुनावी अभियानमा छन् । उम्मेद्वार घोषणा गरी काठमाडौं फर्किएका उपप्रधान तथा गृहमन्त्री लामिछाने चुनावी प्रचारका लागि वैशाख ७, ८, ,११ र १२ गते इलाममा रहनेछन् ।

त्यस्तै पार्टी सहमहामन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ बुधबारदेखि नै चुनावी घरदैलो र कोणसभामा सहभागी भएकी छन् । रास्वपा संसदीय दलका उपनेता समेत रहेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैशाख ९ र १० गते इलाममा घरदैलो, कोणसभा र चुनावी सभामा सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले वैशाख ११ र १२ गते हुने सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको उम्मेद्वार लिम्बूले बताए । रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको कमाण्डमा चुनावी अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा केन्द्रीय सदस्य एवम् सहप्रवक्ता रमेश प्रसाईं, प्रतिनिधसभा सदस्य डा. तोसिमा कार्की, निशा डाँगीलगायतको टोलि घरदैलो र कोणसभामा सहभागी भइरहेका छन् ।

उता पहिचानवादीको तर्फबाट साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले समेत चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न ४१ वटा घटक दर र संघसंसथाको समर्थनमा उम्मेद्वार बन्नुभएका थेगिमले मतादातालाई आफ्नो पक्षमा आकर्षित गर्न चर्चित अभियान्ताहरुको सहयोग लिइरहेका छन् । उनको अभियानमा धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साङपाङ), अधिवक्ता स्वागत नेपाल, लेखक युग पाठकलगायतले साथ दिइरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बाक्लो रुपमा इलाम बसिरहेका छन् । चुनावी कमाण्डर नै भएकाले उहाँ आफ्नो दलका उम्मेद्वार जितबहादुर राईको जित्ने दावी गर्दै आएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लक्ष्मी गुरुङको चुनावी अभियानमा पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) इलाम आइपुगेका छन् ।

इलाम-२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको निधन भएपछी रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । एमालेका उम्मेद्वार सुहाङ स्वर्गीय नेम्बाङका कान्छा छोरा हुन् । सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल परिवार दलको समर्थन छ ।

सो क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् । मुख्यगरी एमालेका सुहाङ नेम्बाङसँगै कांग्रेसका खड्का, रास्वपाका लिम्बू र पहिचानवादीका साझा स्वतन्त्र थेगिमबीच चौपक्षीय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार