इलाममा धर्मगुरु गुहार्दै नयाँ पार्टीहरु पनि !

  नयाँ बुलन्द
140 Shares

विगतका चुनावमा एमाले, कांग्रेस र माओवादी उम्मेदवारले गरेका अभ्यासको सिको गर्दै किरात धर्मगुरु आत्मानन्द भेट्न नयाँ पार्टीका उम्मेदवारहरु आफ्ना शीर्ष नेतासहित लारुम्बा पुगिरहेका छन् ।

इलाम : लारुम्बा– यो शब्दले पश्चिम इलामको भिरालो जमिनमा उभिएको गाउँमात्रै बुझाउँदैन । किरात धर्मावलम्बीहरुले माङ्सेबुङ भनी बोलाउने गरेको यो शान्त गाउँको माहोल उपचुनाव नआउँदै तात्तिइसकेको छ ।

मतदाता भेट्न घरदैलो गर्नुपहिले नै धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को आशिर्वाद ग्रहण गर्नु नयाँ–पुराना सबैजसो दलका उम्मेदवारको प्राथमिक कार्यसूची बन्न गएको छ ।

विगतमा एमालेका उम्मेदवार स्व. सुवास नेम्बाङ, राम राना, कांग्रेसका भेषराज आचार्य, डम्बर खड्का, माओवादीका धिरेन शर्मा लारुम्बा पुग्ने गरेकै थिए । अब यो सूचीमा रास्वपाका उम्मेदवार मिलन लिम्बु, जनमत पार्टी समर्थित उम्मेदवार प्रेमदीप थाम्सुहाङ, अनि कम्युनिस्ट राजनीति गर्दै पहिचानवादी स्वतन्त्र कित्तामा उभिएका डकेन्द्रसिंह थेगिम पनि उभिएका छन् ।

१५ वैशाखको उपचुनावका लागि रास्वपाबाट उम्मेदवार घोषणा हुनेबित्तिकै मिलन लिम्बुले पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेसँगै शुक्रबार साँझ ‘गुरुज्यू’ आत्मानन्दसँग एक घण्टा लारुम्बास्थित माङ्हिममा बिताए ।

इलाम बजारमा औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममा भाग लिन लामिछानेलाई मेची राजमार्गकै बाटो छोटो र सहज हुने भए पनि उनले गुरु भेटका लागि दुर्गमको बाटो छाने । उनीसँग युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायत नेता पनि थिए ।

रास्वपाजस्तै उदीयमान नयाँ दल जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलाम साहित्य महोत्सव पुग्नु पहिले नै उही दुर्गमको बाटोबाट गुरुको आशिर्वचन लिन गए । संयोगवश दुवै नेता शुक्रबार एकै दिन पारेर गुरु भेट्न पुगेका थिए । दुवैले एक–एक घण्टा समय पाए ।

भेटपछि आफ्नो फेसबुकमा गुरु भेटको तस्वीर राख्दै राउतले किरात गुरुमाथि आस्था त दर्शाए नै । फेसबुकमा नलेखिएको कुरा चाहिँ केही भिन्न छ । सीके आफ्नो पार्टीले समर्थन दिएका उम्मेदवार प्रेमदीप थाम्सुहाङसमेत लिएर गुरुकहाँ गएका थिए । राउतले गुरुभेटपछि फेसबुकमा हालेको तस्वीर यति बेला चर्चामा छ, जहाँ उनी गुरु आत्मानन्दका अघिल्तिर घुँडा टेकेर आशिर्वादका लागि तयार देखिन्छन् ।

अरु सामान्य अवस्थामा धार्मिक आस्थाप्रति सम्मान तथा सांस्कृतिक सद्भावना भ्रमण गर्नु स्वभाविक मानिए पनि उपचुनाव लाग्नेबित्तिकै धार्मिक पीठनेर राजनीतिकर्मीहरु पुग्नुको अन्तर्य बुझ्न कठिन छैन ।

यसअघि एमाले उम्मेदवार घोषणा हुनुभन्दा पहिले गत माघमा सुहाङ नेम्बाङ पनि लारुम्बा पुगेका थिए । एउटा सार्वजनिक कार्यक्रममा भाग लिने क्रममा माघ दोस्रो साता गुरु भेट्न पुगेका उनले आशिर्वाद ग्रहण गरी फर्केका थिए । निकट स्रोतका अनुसार केही दिनमै सुहाङ फेरि लारुम्बा पुग्दैछन् । कांग्रेसका सम्भावित प्रत्यासीमध्ये भेषराज आचार्य, डम्बर खड्काले यसअघि नै धर्मगुरु भेटिसकेका छन् ।

कांग्रेस, माओवादीले उम्मेदवार टुंग्याउन बाँकी छ । सम्भावित उम्मेदवारका रुपमा चित्रित माओवादीका धिरेन शर्मा त यसअघिका चुनावी अभियानमा किराती विश्वासको प्रतीक मानिने सेतो चन्दन लगाएरै प्रचारमा निस्कने गरेका थिए । नेताहरु लारुम्बाले नपुगेर नजिकै चुलाचुलीको शक्तिपीठ पुगेर अर्का गुरु लाफयङलाई समेत भेटेर आशिर्वाद लिने गर्छन् ।

यसरी इलामको प्रत्येक चुनावी अभियानमा धर्मगुरुसँगको भेट अर्थपूर्ण मान्ने गरिन्छ । चााहेर या नचाहेरै पनि आत्मानन्द चुनावी चर्चाको केन्द्रमा छाउने गर्छन् । नयाँ पार्टीहरु पनि यस काममा पृथक बन्न सकेनन् ।

सामान्य दिनचर्यावश भेटघाट र आस्था जताउनु बेग्लै कुरा, तर चुनावका बेला पुराना पार्टीका पुराना शैली बदल्छौं भन्ने नयाँ उम्मेदवार पनि किन ‘पुरानै’ बाटोमा त ?

रास्वपा उम्मेदवार मिलन लिम्बु भन्छन्, ‘पवित्र स्थलमा गुरुज्यूलाई भेट्ने क्रम अरु बेला पनि चलिरहेकै हो । अहिले सन्दर्भवश इलाम आइपुग्दा सभापतिज्यूले गुरुको दर्शन गर्नुभएको हो । यसलाई राजनीतिक रुपमा लिनुपर्ने आवश्यकता छैन ।’

जनमत पार्टीका उम्मेदवार प्रेमदीप थाम्सुहाङ भन्छन्, ‘हाम्रा अध्यक्ष सीके राउत आफैंमा आध्यात्मिक व्यक्ति हुनुहुन्छ, अरु पार्टीका नेताहरु आएर यहाँ गुरुसँग चुनावी कुरा गर्दारहेछन् । तर उहाँले त्यस्तो गर्नुभएन ।’

एक घण्टाजतिको कुराकानीमा गुरु आत्मानन्द र राउतबीचमा भएका कुराहरुको सारांश खिच्दै थाम्सुहाङले राजनीतिक कोणबाट व्याख्या नगर्न आग्रह गरे ।

गैरराजनीतिक आवरण दिँदा दिँदै पनि विगतमा आत्मानन्द गुरुकै छोरा शुभनन्द लिङ्देनलाई माओवादीले माङ्सेबुङ गाउँपालिका अध्यक्षको टिकट थमाउन खोजेको थियो । सबै परिस्थितिको विश्लेषण गरिसकेपछि गुरुले ‘छोरालाई डाक्टरले रेस्ट गर्नु भनेको छ’ भन्दै टारेका थिए ।

त्यसैगरी माओवादी केन्द्रका तर्फबाट चुनावमा मांगेना सेवा विकास समितिका तत्कालीन अध्यक्ष केहेरसिंह योङहाङलाई ०७४ को आम चुनावमा समानुपातिक तर्फको उम्मेदवार सूचीमा राखिएको थियो । विगतमा एमाले निकट डकेन्द्रसिंह थेगिम गुरु आश्रमको उच्चतम् तहमै थिए । उनी अहिले स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा खडा छन् । लारुम्बाका चलायमान अगुवा चन्द्रकुमार शेर्मा त पञ्चायतकालदेखि गणतन्त्रसम्मै विभिन्न शक्तिसँग निकट रहँदै आएका छन् ।

एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले विगतमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, शक्तिशाली मन्त्रीहरुलाई गुरु आश्रममा लैजान प्रोत्साहित गर्दै आएका थिए ।

यसअघि इलाम २ बाट प्रतिनिधिसभामा जित्दै आएका नेम्बाङको अवसानसँगै उपचुनाव तयारी जारी छ ।

नेम्बाङले विगतमा फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउन भूमिका खेलेका थिए । उनले लारुम्बालाई प्रकाशमा ल्याउन जोडबल लगाउँदै गर्दा विपक्षी दलहरुले पनि चासोपूर्वक सक्रियता बढाएका थिए । कांग्रेस, माओवादी, जसपा, राप्रपा लगायत नेताहरुकै शैली पछ्याउँदै नयाँ दलहरु समेत गुरु भेटका लागि अघि सरेका हुन् ।

राजनीतिक विश्लेषक तथा पाका पत्रकार धर्म गौतम पुरानै प्रवृत्तिले नयाँ समयमा पनि निरन्तरता पाइरहेकामा असन्तोष जनाउँछन् ।

आध्यात्मिक स्थलमा श्रद्धा सम्मान दर्शाउन पुग्नु स्वभाविक भए पनि चुनावका बेला लाभहानि हिसाब गरेर हिँडेको छनक मिल्ने उनले बताए ।

‘आत्मानन्द गुरुज्यू आध्यात्मिक पुरुष हुनुहुन्छ, उहाँको कुनै पार्टीगत संलग्नता वा झुकाव देखिँदैन, बरु उहाँका चेला भनिनेहरुमध्ये कतिपयमा सांसारिक र दलगत निकटता, चाहना देखिने गर्छन्’, गौतम भन्छन्, ‘नेताहरु पनि सम्मानवश पुग्नुभएको भए ठीकै हो, तर लाभका लागि त्यहाँ पुग्नुभएको हो भने त्यसलाई उचित मान्न सकिँदैन ।’

-समाचार श्रोत : अनलाइनखबर/तस्बिर स्रोत : सुमन लावती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार