चैत्र २६ गतेदेखि घुर्बिसे पञ्चमीमा सेहोनाम्लाङ महोत्सव हुँदै, पर्यटकको घुईंचो लाग्ने अनुमान

  युद्धबहादुर बोहोरा
588 Shares

पाँचथरः चैत्र २६ गतेदेखि घुर्बिसे पञ्चमीमा सेहोनाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ । फाल्गुनन्द गाउँपालिका भित्र रहेका ओझेलमा परेका ऐतिहासिक साँस्कृतिक पर्यटन क्षेत्र,कृषि, शिक्षा, स्वास्थ्य,खेलकुद,मनोरन्जनलगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित उक्त महोत्सव गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

यस ठाउँमा पहिलो पटक आयोजना गरिएको महोत्सव आगामी चैत्र २६ गतेदेखि २०८१ बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । सात दिन चल्ने  महोत्सवमा ४० लाख रुपैयाँ बढीको आर्थिक कारोबार तथा आन्तरिक तथा बाहृय पर्यटक सहित करिब ५० हजार बढी मानिसले अवलोकलन गर्ने अनुमान गरिएको छ । इलाम जिल्लासंग सिमाना जोडिएको यस क्षेत्रमा प्रायः मानिसहरुको चहल पहल हुने गरेको छ । राँके-रवि- भेडेटार सडकमा पर्ने यो बजारमा महिनामा दुई पटक हटिया लाग्छ । उत्तरे बजारबाट करीब चार किलोमिटर टाढा यासोक जाने सडकामा सेहोनाम्लाङ पुग्न सकिन्छ । यस ठाउँमा पर्यटकको घुईंचो लाग्ने आंकलन गरिएको छ ।

फाल्गुनन्द गाउँपालिकाले महोत्सव शुरुवात गर्न तीन लाख रुपैया पहिलो बजेटको तर्जुमा गरेसंगै सेहोनाम्लाङसंग जोडिएका छिमेकी स्थानीयतह कुम्मायक र मिक्लाजुङ गाउँपालिकाले पनि सहयोग गर्ने जनाइएको छ । महोत्सव सफल पार्न नेपाल पर्यटन बोर्ड र चलचित्र बिकास बोर्डको सहयोग रहने महोत्सव संयोजक सूर्य प्रकाश चेम्जोङले जानकारी दिए ।

यसैगरी, स्पन्सरहरु सिंगर ट्रेडर्स,याङ्तारु सेकुवा र लालीगुँरास रेष्टुरेन्टले गर्ने भएको छ भने जनजागरण अभियान तथा कृषि विकास मञ्च,नेपाल,महिला उद्यमी बहुउद्देश्य सहकारी संस्था लिमिटेड,पीवाईसी फाल्गुनन्द-५,आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउँपालिका समिति,हाङ् पृथिसिं युवा समुह,नेबचोक प्रगतिशिल युवा क्लब,नाम्सामी केसामी केलाङ संस्था र याक्थुङ मुन्चइत चोक सयङ केन्द्रिय समिति सह आयोजक रहेका छन् । हाल  विदेशमा रहेका समाजिक अभियान्त,सहयोगदाताहरुबाट महोत्सवलाई आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको साथै स्थानीयबासी र शुभेच्छुक मार्फत पनि प्राप्त हुने जनाइएको छ । महोत्सवको आयोजक टिमका अनुसार विभिन्न संचार माध्यमलाई मिडिया पार्टनरमा राखिएको बताइएको छ ।

यस महोत्सवले व्यवसायिक क्रियाकलाप भन्दा पनि पालिका भित्रका ओझेलमा परेका साँस्कृति क्षेत्रको प्रचार प्रसार गरेर पर्यटन प्रवर्धनको विकास गर्ने लक्ष्य राखिएको छ । योसंगै आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरिएको र सबैको साथ सहयोगको अपेक्षा गरिएको आयोजक समिति अध्यक्ष देउमान आङदेम्बे (डिएम) ले बताए ।

नयाँ वर्ष २०८१ को अवसर पारेर तयारी गरिएको महोत्सवमा स्थानीय कृषि जन्य वस्तुको प्रदर्शनी,जात जातीका भेषभुषा,नृत्य,बाजगाजा,फुटबल,भलिबल,ब्याडमिन्टन,भाग्यशाली उपहार योजना, स्थानीय मौलिक खानाका स्टल,हस्तकलालगायत राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक मनोरन्जनको आयोजना गरिएको छ ।

उक्त महोत्सवमा आम नागरिक,संचारकर्मी,राजनीतिक दल, उद्योगपति,बौद्धिक वर्ग आएर मनोरन्जन,अवलोकन साथै प्रचारप्रसारमा सहायता गरिदिन आयोजक समितिले अपिल गरेको छ ।

यसै महोत्सवमा सेहोनम्लाङसंग सम्बन्धित नामसामी केसामी बारे पछिल्लो समय बाझिने गरि लेखिएका लेखहरुलाई एकरुपता ल्याउने गरी विज्ञहरुको उपस्थितिमा कार्यपत्र समेत पेश हुने र सेहोनाम्लाङ, नामसामी केसामीसहित अन्य स्थलको भ्रमण गरिने भएको छ । उक्त अवसरमा भारतको दार्जिलिङ र सिक्किमबाट पनि सरोकारवाला व्यक्तिहरु सहभागीता रहने आयोजकले जानकारी दिएका छन् ।

सेहोनाम्लाङ (छालासुकुवा) को परिचयः

फाल्गुनन्द वडा नम्बर ५ र ७,मिक्लाजुङ १ र कुम्मायक २ नम्बर वडासंग जोडिएको उक्त ठाउँमा नाम्सामीले आफ्नो दाजु केसामीको छाला सुकाएका थिए । प्राग ऐतिहाँसिक कालमा फाक्चारा तिगेन्जङमाका दुई छोरा नामसामी र केसामी  जन्मिएका थिए । मिथक मुन्धुमी सभ्यता अनुसार जुम्ल्याह दाजुभाई हुर्केबढेपछि उनीहरूको झगडा तरुल, भ्याकुर र शिकारलाई लिएर हुन थाल्यो । शिकार खोज्ने क्रममा जंगलमा विशाल सिमलको रुखमा उनीहरूको युद्ध हुँदा नामसामीले केसामीलाई मारे । त्यसपछि नामसामीले केसामीको छाला काढेर सुकाउने ठाउँ खोज्दै हिँड्दा धेरै ठाउँ घुमे तर कतै नसुकेपछि पाँचथरको देउरालीस्थित सेहोनाम्लाङमा छाला सुकाए। नामसामीले छाला सुकाउँदा गाडेका खुटिका डोबहरू आजसम्म प्रष्ट देखिन्छन् । यस ठाउँमा अझैसम्म झार उम्रिएको छैन । घाम झुल्कदा पहिले आइपुग्ने र अस्ताउँदा पनि त्यहाँ अन्तिम अवस्थासम्म रहने गर्छ । सेहोनाम्लाङको मुन्धुम फूल जगाउने संस्कारसँग सम्बन्धीत छ । विशेषगरी तरुणी–तन्देरीको शिर उठाउन फूल जगाउने संस्कार गरिन्छ । आमा फाक्चारा सरङ्थामा मनुष्यको प्रतिक स्वरूप सिल्लरी फूल र बाघको प्रतिकस्वरूप बाबरी फूल कलश राखेकी थिइन् । केसामिको पराजयसँगै बाबरीफूल ओइलाउँछ । नामसामीले बाघ भएका दाजु केसामीको सर्वनास गरेर लिम्बू परिवार र समाजको संरक्षण गरेको पाइन्छ । नामसामीले छालासँग मानिसलाई आवश्यक कुराहरू साटेर ल्याएको चर्चाले उ बेलादेखि नै लिम्बू समाजमा विनिमय प्रणालीको पनि सुरु भएको देखिन्छ । वास्तवमा सेहोनाम्लाङले लिम्बू सभ्यताको आदिम कालखण्डको झझल्को दिन्छ । वास्तवमा मान्छेको जोवानसँग फूललाई दाँजेर हेर्ने लिम्बूको छुट्टै विशेषता हो । यसरी याक्थुङ्बा लिम्बूहरूको सबैभन्दा आस्थाको नजिक साँस्कृतिक धरोहरको रूपमा सेहोनाम्लाङलाई पाउन सकिन्छ । अहिले सेहोनाम्लाङलाई छालासुकुवा डाँडाको रूपमा सीमित गर्ने गरिएको छ । यहाँका स्थानीयहरू सेहोनाम्लाङको संरक्षण गर्न खुलेर लागेको समेत २०६८ सालमा प्रकाशित लाइक जर्नलमा उल्लेख गरिएको छ ।

यही सेहोनाम्लाङलाई प्रचारगरी यस ठाउँको महिमा तथा वास्तविकता संसारभर पुर्याउने गरी फाल्गुनन्द गाउँपालिकाले छिमेकी स्थानीयतहहरुको समन्वयमा दिर्घकालिन गुरुयोजना बनाउने साथै प्रदेश र संघीय सरकार समक्ष योजना माग गर्ने फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृज हाङ आङदेम्बेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार