चुलाचुलीमा ‘ऐना पोखरी’ महोत्सव सुरु

इलाम : इलामको चुलाचुली गाउँपालिका ३ र ४ मा पर्ने ‘ऐना पोखरी’ मा मङ्गलबारदेखि महोत्सव सुरु भएको छ । चुरे क्षेत्रमा पर्ने ऐना पोखरीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन आयोजना आयोजना गरिएको हो ।

‘पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको यस ऐना पोखरीलाई थप प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजनाको गरिएको हो’ आयोजक समितिका अध्यक्ष कैलास राईले भने ।

भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो’ उनले भने ।

७ फागुनसम्म सञ्चालन महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, खेलकुद प्रतियोगिता, स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछन् । त्यसका लागि दुई दर्जनबढी स्टलहरु निर्माण भएका छन् । स्टलमा स्थानीय खाद्य, घरेलु उद्योगबाट निर्मित सामग्रीहरु राखिनेछन् ।

महोत्सवमा आउने पर्यटकहरुलाई रैथाने सेवाद चखाउने स्थानीयको तयारी छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, राटी, वाचिपा, केरा, सिमलको विभिन्न परिकारहरुको स्वाद चाख्न पाइने छ ।

चुरे वनको फेदीमा पर्ने ऐना पोखरीमा घुम्न र मनोरञ्जन लिनका लागि वातावरण शान्त छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बिचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भोगोलिक सहजताले पर्यटकका लागि उपयुक्त छ । पछिल्लो समय त्यस क्षेत्रमा तस्बिर लिन, भिडियो बनाउन र पिकनिक खान आउनेको समेत भिड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार