‘ऐना पोखरी’ संरक्षणमा जुट्दै चुलाचुली गाउँपालिका

इलाम : इलामको चुलाचुली गाउँपालिका ३ र ४ मा पर्ने ‘ऐना पोखरी’ संरक्षणमा स्थानीय सरकार लागेको छ । ‘ऐना’मा जस्तै पानीमा आफ्नो अनुहार प्रष्टै देखिने ‘ऐना पोखरी’को र प्रवर्द्धनमा संरक्षणमा चुलाचुली गाउँपालिका लागेको हो ।

पछिल्लो समय पर्यटकको रोजाई बन्दै गएको ‘ऐना पोखरी’ लाई ‘ऐना पोखरी श्रम पार्क’ नामाङ्करण गरी पूर्वाधार विकास गर्न थालेको हो । ‘ऐना पोखरी’सम्म पुग्न पर्यटकलाई सहजताका लागि चुलाचुली गाउँपालिकाले मोटरेबल सडक निर्माण गरेको छ ।

चुरे क्षेत्रमा पर्ने ऐना पोखरीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन चुलाचुली गाउँपालिकाले पर्यटन महोत्सवको तयारी गरेको छ । आउँदो फागुन १ देखि ७ गतेसम्म ऐना पोखरी पर्यटन महोत्सव आयोजना गर्न लागिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

‘पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको यस ऐना पोखरीलाई थप प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले फागुन पहिलो साता पर्यटन महोत्सव आयोजना गर्न तयारी गरेका छौं’ अध्यक्ष केरुङले भने, ‘स्थानीय कलास राईको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरी महोत्सवको तयारीमा सुरु तीव्र बनाएका छौं ।’

भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको मूल व्यवस्थापन समितिका अध्यक्ष कैलास राईले बताए । ‘चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, तयारी तीव्र पारिएको छ’ उनले भने ।

एक साता सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन, खेलकुद प्रतियोगिता, स्थानीय कला, संस्कृति, भेषभूषाको प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनीलगायतका कार्यक्रम गरिने अध्यक्ष राईले बताए । त्यसका लागि दुई दर्जनबढी स्टलहरु निर्माण भएका छन् । स्टलमा स्थानीय खाद्य, घरेलु उद्योगबाट निर्मित सामग्रीहरु राखिनेछन् ।

महोत्सवमा आउने पर्यटकहरुलाई रैथाने सेवाद चखाउने स्थानीयको तयारी छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, राटी, वाचिपा, केरा, सिमलको विभिन्न परिकारहरुको स्वाद चाख्न पाइने छ ।

चुरे वनको फेदीमा पर्ने ऐना पोखरीमा घुम्न र मनोरञ्जन लिनका लागि वातावरण शान्त छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बिचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भोगोलिक सहजताले पर्यटकका लागि उपयुक्त छ । पछिल्लो समय त्यस क्षेत्रमा तस्बिर लिन, भिडियो बनाउन र पिकनिक खान आउनेको समेत भिड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार