इलाममा तेह्रकुने सिमसार महोत्सव सुरु

  नयाँ बुलन्द
273 Shares

इलाम : इलाममा ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ आज बुधबारदेखि सुरु भएको छ । माई नगरपालिका-१ र ९ को संगम स्थलमा पर्ने तेह्रकुने सिमसार क्षेत्रमा पर्यटक भित्र्याउन वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिले महोत्सव आयोजना गरेको हो  ।

महोत्सवको उद्घाटन गर्दै माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने बताए । ‘कुना भएको अचम्मको पोखरी यहाँ छ । यसको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न जरुरी छ’ उनले भने ‘यसका लागि सबैजना आआफ्नो क्षेत्रबाट लागौं, नगरपालिका साथ दिन सधैं तयार छ ।’

नगरप्रमुख लिम्बूले महोत्सवले तेह्रकुने सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरे । उनले पर्यटन विकास गर्न पूर्वाधार विकाससँगै प्रचारप्रसारमा विशेष जोड दिनुपर्ने उल्लेख गरे ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, डुङ्गा सयर (बोटिङ), माछा मार्ने (फिसिङ), स्थानीय भेषभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम सञ्चालन हुने आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी दिनुभयो ।

महोत्सवका स्टलहरुमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको विषेश परिकार) केरा, सिमलको विभिन्न परिकारहरु राखिएका छन् । महोत्सव पुस २० गतेसम्म सञ्चालन हुनेछ ।

तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

१३ वटा कुना र उत्तर बग्ने विशेषता

समुन्द्र सतहबाट चार सय ७८ मिटरको उचाईमा रहेको तेह्रकुने सिमसार क्षेत्र करिब तीन सय रोपनी क्षेत्रमा फैलिएको छ । सिमसार क्षेत्रभित्र नागबेली जस्तो देखिने १३ वटा कुना भएको आकर्षक पोखरी यसको प्रमुख विशेषता हो । पोखरीले मात्र करिब सय रोपनी क्षेत्र ओगटेको छ ।

दक्षिणबाट उत्तरतर्फ पानी बग्नु पोखरीको अर्को विशेषता हो । वरिपरिको डाँडाकाँडा र हरियाली वनजङ्गलले पनि सिमसारको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ उपयुक्त छ । विशेषगरी आदिवासी राई समुदायको बसोबास रहेको त्यस क्षेत्रमा उनीहरूको साँस्कृतिक परम्परासमेत अवलोकन गर्न सकिन्छ ।

झापाको बिर्तामोडबाट ३० किलोमिटर र इलाम बजारबाट करिब ३४ किलोमिटरमा रहेको यहाँ बर्सेनि पर्यटकहरु घुम्न पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार