माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखी धाममा सोमबार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी (कात्तिके) मेलाको अवसरमा साँस्कृतिक कार्यक्रमको तयारी गरिएको हो । गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा हुने कार्यक्रममा विभिन्न कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।
कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन-४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन-५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।
मेलाको अवसरमा अन्य विभिन्न कार्यक्रम समेत संचालन हुनेछन् ।कात्तिक पूर्णिमाको अवसरमा गजुरमुखी धाममा आइतबार तीन दिने धार्मिक मेला लाग्दैछ । मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन र प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल संचालन हुनेछ । गोल्डकपको फाइनल सोमबार दिउँसो हुनेछ ।
मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङलगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण बर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक सयौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।
मेची लोकमार्ग अन्तरगत इलामको नेपालटार-मंगलबारे-धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । झापाको दमकबाट माङसेबुङ-चतुरे-इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।
वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।
जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।