लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङको २९७ औं जन्मजयन्ती मनाइयो

पाँचथर : लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङको २९७ औं जन्मजयन्ती मनाइएको छ । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका-४ स्थित हिलिहाङ दरबार परिसरमा जन्मजयन्ती मनाइएको हो ।

हिलिहाङ गाउँपालिकाको आयोजना र हिलिहाङ फाउण्डेशनले सहआयोजनामा शुभकामना आदानप्रदान र विभिन्न साँस्कृतिक कार्यक्रम गरी हिलिहाङको जन्मजयन्ती मनाएको हो ।

हिलिहाङ फाउण्डेशनका अध्यक्ष हर्कबहादुर योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर अधिकारीले हिलिहाङको जन्मजयन्ती पाँचथरमा मात्र नभई देशभर मनाउने वातावरण बनाउनुपर्ने बताए । उनले आधुनिक नेपाल निर्माणका लागि तत्कालीन लिम्बुवानको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै इतिहासको संरक्षण गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

हिलिहाङ फाउण्डेशनका अध्यक्ष योङहाङले ऐतिहासिक हिलिहाङ दरबारको संरक्षणमा सरकारको ध्यानाकर्षण गराए । हिलिहाङ दरबार देशको सम्पत्ति रहेको उल्लेख गर्दै संरक्षण र सम्वर्द्धनमा सबैको चासो हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी हिलिहाङको जन्मजयन्तीको अवसरमा साँस्कृतिक कार्यक्रम समेत गरिएको छ । द भ्याइस अफ नेपाल सिजन-४ का फस्ट रनर अफ सबिना योङहाङ, द भ्याइस अफ नेपाल सिजन-५ का प्रतिष्पर्धी नोगेन लिम्बू हाङसरुम्बा, सम्झना योङहाङ, लक्ष्मी योङहाङ, तारा लिङदेन, लिलाप्रकाश जवेगूलगायतको प्रस्तुतीले हिलिहाङबासी दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रमको संचालन हिलिहाङ फाउण्डेशनका सचिव प्रकाश योङयाले गरेका थिए ।

वि.स. १७८३ साल कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हालेका थिए । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाई गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो । लडाई र संघर्षका बीचमा राजा पृथ्वीनाराणय शाह र हिलिहाङ राजाबीच औपचारिक तथा अनौपचारिक धेरै सन्धि र सम्झौता भएका थिए । सम्झौतामध्ये वि.सं. १८१४, १८३१ र १८४२ मा भएका सन्धि सबैभन्दा बढी चर्चामा थिए ।

सन्धि अनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरूबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । अर्थात् शाहहरू र योङहाङहरू राजखानदानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरिएको इतिहासकारहरु बताउँछन्

यस क्षेत्रमा हिलिहाङले ३१ वर्षको उमेरमा वि.स. १८१४ मा शासन हात लिएर वि.स. १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहासमा उल्लेख छ । हिलिहाङ गाउँपालिका-४ मा लिम्बुवानका अन्तिम राजा हिलिहाङ योङहाङको संग्रहालय निर्माण भएको छ । त्यस्तै सोही क्षेत्रमा हिलिहाङ दरबार (प्यागोडा शैली) समेत निर्माणाधीन छ । सोही स्थानमा हिलिहाङ फाउण्डेशनले दुईवटा सालिक निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार