फाकफोकथुम गाउँपालिका-७ मा फाल्गुनन्दको १३९ औं जन्मजयन्ती मनाईयो (तस्बिरहरु)

फाकफोकथुम : किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती शनिबार इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पाको रुपाटारमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा सामूहिक पूजा, शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गरी फाल्गुनन्दको जन्मजयन्ती मनाईएको हो ।

सिद्ध किरात हाङसाम युमा माङहिमका अध्यक्ष पञ्चबहादुर योङहाङ लिम्बूको अध्यक्षता र फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यता भएको कार्यक्रमको उद्घाटन १३९ वटा दिप प्रज्वलन गरेर गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना राई, अधिवक्ता सुहाङ नेम्बाङ, निवर्तमान गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, वडा अध्यक्ष छत्रबहादुर लिम्बूलगायत विभिन्न राजनीतिक दल एवम् सामाजिक संघसंस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खनालले महागुरु फाल्गुनन्द लिङदेनको अभियानले सार्थकता पाउँदै गएको बताए ।

अधिवक्ता नेम्बाङले महागुरु फाल्गुनन्दको योगदान कहिले भुल्न नहुने बताउँदै सबै मिलेर आफ्नो धर्म संस्कृतिलाई अनुसरण गर्दै लैजानुपर्ने बताए ।

 

यसैगरी किराती समुदायको बसोवास रहेका लिम्बुवानका जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभालगायत उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर र किरात धर्मावलम्बीको बसोबास रहेका  कास्की, उदयपुर, खोटाङ, भोजपुरलगायतमा  समेत विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाईएको छ ।

फल्गुनन्दले सांस्कृति करुपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातिय विभेदका विरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रष्ट भएको धार्मिक अभियान्ताहरु बताउँछन् । सरकारले राष्ट्रिय विभूतीको रुपमा घोषित गरेपछि राष्ट्रिय पर्व मान्दै २५ कात्तिकमा सार्वजनिक बिदा दिदैं आएको छ । नेपाल सरकारले १६ मंसीर २०६६ मा तत्कालिन फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सरकारले उनको फोटो अंकित हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ ।

इलामको माङसेबुङ गाउँपालिकाको इभाङस्थित चुक्चिनम्बामा २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किरात धर्मालम्बीहरुको विश्वास छ । उनले देउमाई नगरपालिका ९ जितपुर खत्रक्पा खोल्सी माईखोलाको किनारमा ज्ञान प्राप्त गरेको किरात धर्मालम्बीहरुको दावी छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्दले फर्केर धर्म प्रचारमा लागेका थिए ।

माङसेबुङस्थित वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनका साईनोमा बाजे पर्ने फाल्गुनन्दले उतिबेला पाँचथरको लब्रेकुटी र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किरात मन्दिर बनाएका थिए । समाज सुधारकसँगै किरात धर्मालम्बीहरु धर्मगुरुलाई दैवीशक्ति प्राप्त व्यक्तिको रुपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किरात बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर उनको सामाजिक सुधार र धार्मिक बाटोमा हिड्नेहरुको संख्या बढ्दो छ ।

किरातीहरुले प्रयोग गर्ने मुन्नधुमलाई लिपिवद्ध गर्ने काम पनि उनले गरेको जानकारहरु बताउँछन् । उनले प्रतिवादन गरेको धर्मलाई किरात हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न उनले धर्ममार्फत अभियान चलाएकाले यो धर्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ । फाल्गुनन्दले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्बुवानका प्रतिनिधि बोलाएर किरात याक्थुङ वृहद चुम्लुङ बोलाएर दश बुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए ।

जस्लाई किरात समुदायले किरात संस्कृतिको पहिलो खुट्किलोका रुपमा लिदैं वैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्दछन् । फाल्गुनन्दको निधन २२ चैत २००५ मा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित सिलौटीमा भएको हो । उनले तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्वपूर्ण काम गरेका क्षेत्रलाई तिर्थस्थलकोरुमा लिइने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार