
इलाम : इलामको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा रहेको माईपोखरीमा त्रिधार्मिक महाउत्सव हुने भएको छ ।
पूर्वी पहाडी जिल्लाको रामसार क्षेत्रमा सुचिकृत माईपोखरीमा धार्मिक र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले त्रिधार्मिक महाउत्सवको तयारी सुरु गरिएको बिहीबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ ।
आउँदो १ देखि ८ मंसिरसम्म त्रिधार्मिक (हिन्दु, बौद्ध र किरात) महाउत्सवको आयोजना हुनेछ । सो महाउत्सवको तयारी अहिले तीब्र भइरहेको आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङले बताए ।
धार्मिक पर्यटन प्रवद्र्धनका लागि हरिबोधनी एकादशीको दिन समापन हुने धार्मिक उत्सवको सफल बनाउन प्रचारप्रसार र निमन्त्रणाको काम शुरु भएको मुल आयोजक समितिका सह संयोजक गृष्म सुब्बाले बताए । धार्मिक महत्वको माईपोखरीमा शक्ति पिठको रुपमा रहेकाले यसको प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको सुब्बाले बताए । उनले भने, ‘ धार्मिक महत्व र हिन्दु, वौद्य र किराँत धर्मको संगमस्थल माईपोखरीको प्रवद्र्धन गर्ने पवित्र उदेश्य राखेर धार्मिक पर्यटन उत्सवको आयोजना गरिएको हो ।’
माईपोखरीमा हरिबोधनी एकादशीको दिन मेला पनि लाग्ने प्रचलन रहेको छ । सो अवसरमा हिन्दु, बौद्ध र किराँत धर्मगुरुको उपस्थितमा ८ दिनसम्म धार्मिक उत्सवको आयोजना गरिएकाले आर्थिक श्रोत सबै इलामबासीबाट सहयोगको अपेक्षा गरिएको आर्थिक उप–समिति संयोजक नेत्र रिजालले बताए । हामीले धार्मिक उत्सवको अवसरमा १० लाख भक्तजन र पर्यटकहरुको भ्रमण माईपोखरीमा गराउने उदेश्य राखिएकाले भक्तजनहरुको भेटि, दानदक्षिणाबाट धार्मिक उत्सव सफल बनाइने रिजालले बताए । उनले भने–‘धार्मिक उत्सव सफल बनाउन सय रुपैयाँ सहयोग संकलनको अभियानको थालनी गर्नेछौँ ।’
धार्मिक उत्सवका अवसरमा श्रीमद् भागवत महापुराण सप्ताहज्ञान महायज्ञको आयोजना गरिने भएको प्राचारप्रसार समितिका संयोजक श्याम राईले बताए । पर्यटकिय र धार्मिक महत्वको माईपोखरीको महत्वको प्रचारमा उत्सवले अझ सहयोग पुग्ने राईले बताए ।
धार्मिक उत्सवको आयोजना उत्सवमा मात्रै सिमित नराखेर इलाम जिल्लाको समग्र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको आयोजक समिति तथा नेपाली काग्रेस जिल्ला सह–सचिव देबेन्द्र सुवेदीले बताए । कोरोना माहामारीले थलिएको इलामको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेकाले सबै इलामबासीको सहयोग आवश्यक रहेको सुवेदीले बताए ।
माईपोखरी सन्दकपुर गाउँपालिकामा रहेको भएपनि विश्वमा परिचित भएकाले त्यसलाई अझ प्रचारप्रसार गर्न र सिंगो इलामको पर्यटन विकासको लक्ष्य रहेको उनले बताए । ‘माइपोखरीको महिमा विश्वभर छर्ने उद्देश्यले महाउत्सव आयोजना गर्न लागेका हौँ,’उनले भने, ‘धार्मिक सहिष्णुताको उत्तम नमुनासमेत रहेको माइपोखरीका माध्यमबाट पर्यटकीय प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।
आचार्य पण्डित कृष्ण घिमिरेले माईपोखरीको पौराणिक महत्व रहेकाले त्यसलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । क्रिधार्मिकस्थल माईपोखरीको महत्व विश्वमा परिचित छ उनले भने–‘यसलाई अझ प्रचारप्रसारका काम गरेमा हामीले इलामको अर्थतन्त्र विकासमा सहयोग पुग्नेछ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले इलामको पर्यटन प्रवद्र्धनका लागि संचारकर्मीले महत्वपूर्ण भुमिका निर्वाहा गरेकाले आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले माइपोखरी धार्मिक र जैविक विविधताको सर्वोत्तम नमुना भएको बताए । माइपोखरीमा आयोजना गरिने जुनसुकै धार्मिक र सांस्कृतिक क्रियाकलापले गाउँपालिकाको अर्थतन्त्र विकासमा ठुलो सहयोग पग्ने बताए । धार्मिक आस्था होस् या पर्यटकीय र जैविक, सबै हिसाबले घुम्ने ठाउँ बनेको छ इलामको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी । उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो नौ कुनाको पोखरी छ । वरिपरि हरियालीभित्र कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधा जसो कुना घुमेरै मात्र देखिनु यसको अर्को विशेषता हो माइपोखरीको ।
दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश छंग खुल्ने बित्तिकै माइपोखरी निकै मनमोहक देखिन्छ । हरिवोधनी एकादशी र प्रत्येक वैशाख १ मा यहाँ ठूलो धार्मिक मेला लाग्ने गरेको आचार्य पण्डित बिष्णु प्रसाद भट्टराईले बताए ।
माइपोखरी वरपर अहिले होम–स्टेसमेत राखिएका छन् । यहाँ आउने पर्यटकले फूल, आलु, मुला, अर्गानिक चिया र तरकारी खान पाउँछन् । किनेर पनि लैजान्छन् । दर्जनौँ प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले घेरिएको माइपोखरीमा आकाश उघ्रेका बेला कञ्चन पानीमा कोणधारी धुपी–सल्लाघारीको छाया देखिन्छ । प्रेम जोडीको त गन्तव्य हो नै, माइपोखरीमा नवदम्पती बिहे लगत्तै जीवनको अटुट कसम खान पुग्छन् । तीर्थ–व्रत गर्न टाढा–टाढादेखि आएका वृद्ध वृद्धाको लहर लाग्छ ।
पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम तीनदेखि अधिकतम १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्छ । दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन् । गलैंचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ भनिन्छ । अध्ययनहरूका अनुसार स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, छ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुत्तो, ठकठके, पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यहाँ पाइन्छन् ।
विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । दर्जनौँ प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बूढो ओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैँचा देखिन्छन् यहाँ । प्रत्येक जसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अङ्कित गरिएको छ । २८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौँ बैठकले माइपोखरीलाई विश्व सम्पदा सूचीमा राखेको हो ।



















































