
इलाम : इलाममा आजदेखि (सोमबार) देखि ‘चियाबारी… मिठो चियाको कथा’ नामक नाटक खुल्ला प्रदर्शन हुँदैछ ।
चेतना नाट्य समूह इलामद्वारा पहिलोपटक ‘चियाबारी… मिठो चियाको कथा’ नामक नाटक खुल्ला प्रदर्शन हुन लागेको हो ।
इलाम सदरमुकामस्थि नारी विकास संघको सभाहलमा आउँदो २ कात्तिकसम्म नाटक प्रदर्शन हुने सुरेश पोर्तेलले जानकारी दिए । उनले नाटक साँझ साढे ४ देखि सवा ६ बजेसम्म प्रदर्शन हुने जानकारी दिए ।
नाटक डेढ घण्टाको हुनेछ । नाटक प्रत्येक दिन एक पटक र शनिबार अतिरिक्त समयसहित दुई पटक प्रदर्शन हुनेछ । शनिबार मध्यान्ह १२ बजे अतिरिक्त समयमा प्रदर्शन हुनेछ । कलाकारहरुको सक्रियतामा सहकार्यका लागि दर्शकले ३ सय रुपैयाँ शुल्क तिरेर नाटक हेर्न सक्नेछन्, विद्यार्थीलाई आधा छुट दिइएको छ ।

‘चियाबारी… मिठो चियाको कथा’ नाटकको परिकल्पना र निर्शेदशन अन्वेश थुलुङले गरका छन् । नाटक लेखन भने चेतना नाट्य समूहले गरेको हो । नाटकमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।
नाटकमा मल्लीका कार्की, रेविका तोलाङ्गी, आशिका सक्तेन, समिर कुलुङ राई, भूमिका सुब्बा, दर्शन सरकार (घिमिरे), निशान देवान, सविना अधिकारी, कृष्ण मगर, सृष्टि लिम्बू, मोहन राई, विमला चाम्लिङ राई, मनिष विश्वकर्मा, बिमला राना मगर, तेज मगर, रोजन गुरुङ र विष्णु खतिवडाको अभिनय रहेको छ ।
इलामलाई चिया पर्यटनको रूपमा विकास गर्दै, चियामा स्थानीयको लगानी, व्यवसायिक सफलता, बजार र यसको भविष्यको विषयमा जानकारीसँगै पारिवारिक चिया संस्कृतिको सद्भाव सिकाउने नाटकका परिकल्पनाकार तथा निर्देशन अन्वेश थुलङले जानकारी दिए ।

नाटक मार्फत इलामको कला र संस्कृति चिनाउँने नाट्यकर्मलाई संस्थागत गर्न लामो समयदेखि नाटकमा युवाको भविष्य खोज्दै आएको चेतना नाट्य समूहले असअघि ‘महाभारा’ नाटक प्रदर्शन गरेको थियो । दर्जन बढी मञ्च नाटक निर्माण गरेर प्रर्दशन गर्दै आएको समूहले स्थानीय स्रोत र साधनलाई परिचालन गर्दै विभिन्न दाताहरूसँग सहयोगको आपेक्षा समेत राखेको चेतना नाट्य समूहका अध्यक्ष पोर्तेलले बताए ।
चेतना नाट्य समूहको परिचय
चेतना नाट्य समूह इलाम वि.सं. २०६५ सालमा मानवअधिकार मञ्च नेपाल इलामको आयोजनमा सञ्चालित कचहरी नाटकको कार्यशालाबाट स्थापित भएपनि विधिवत् रुपमा वि.सं. २०७२ मा जिल्ला प्रशासन कार्यलय, इलाममा दर्ता भएको संस्था हो । चेतना नाट्य समूह सूर्योदयको जिल्ला इलाममा रहेर नाटकको विभिन्न विधाको प्रवर्द्धन गर्ने कार्यमा क्रियाशील छ । नाट्य समूहसँग कचहरी, Playback, सडक र मञ्च नाटकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव रहेको छ । हामीले स्थानिय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरी करिब २०० भन्दा बढी नाटक प्रस्तुत गरिसकेको छौं ।
‘चियाबारी… मिठो चियाको कथा’ नाटकबारे
मीठो भन्ने कुरा के हो ? स्वाद के हो ? चियाको पारखी वंशराज थापा चियाको स्वादले सन्तुष्ट हुँदैनन् । उसलाई एकदिन विश्वभरको चिया स्वादिलो लाग्दैन। मीठो लाग्दैन । ऊ मीठो चियाको खोजीमा छ । गाउँमा एक शिरिषको रुख छ। जहाँ बेलुका भएपछि तसाउँछ । धेरै जनाले अनेक उपाय लाउँदा पनि तसांउन छाडेको छैन। छोप्न छाडेको छैन। दलसिं राईले आफ्नो जाने जत्तिको सबै कुरा गर्दा पनि तसांउन छाड्दैन। तै पनि गाउँमा अहिले चिया टिप्ने बेला छ । चिया टिप्ने गाउँलेहरुमाझ चियाको आफ्नै गति छ । उनीहरुको आफ्नै लय । चियाको आफ्नै बुझाई। के वंशराजको चिया स्वादिलो होला ? अनि त्यो तर्साउने को हो ? किन तर्साउँछ ? यहि विषयवस्तुलाई नाटकले कथामा बनाउँछ ।
निर्देशन र लेखकीय भनाई
लकडाउनको बेला चियापत्ति नबिकिरहेको धेरै समाचारहरु आइरहेको थियो । म आफैँ काठमाँडौ रहेपनि इलामको चासो रहिरहने रैछ। भएको यहि थियो । त्यसपश्चायत मैले काठमाँडौका पसलहरु चहारे। विशेषगरि काठमाँडौमा कफि कल्चर छ । अनि इलामे पत्ति चियाको ? धेरैजनाले सिटिसि चिया खान्छन् । चियापत्ति बिक्ने नबिक्ने कुरामा हामीले हाम्रै आन्तरिक बजारलाई कस्तरी हेरिरहेका छौं। म आफैँ कुनै व्यापारको ब्याकग्राउन्डबाट आउँदिन तर मलाई थाहा भएको कुरा के हो भने इलाममा हुने हरेक आर्थिक सामाजिक क्रियाकलापहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हामी सम्पूर्ण इलामेहरुको जीवनलाई असर गर्छ। यसो हुँदा हाम्रो काम(नाटक) ले कसरी सहयोग गर्न सक्छौं भन्ने कुराको निरन्तर चिन्तन नै यो नाटकको आधारकथा हो ।
चियाबारी, इलामलाई धेरै समयसम्म रहेपनि पनि हाँस्यादपद कुरा यो छ की मैले साँच्चिकै चियालाई चिनेको रहेनछु । चियासँग जोडिएको पुरानो इतिहासको सामान्य ज्ञान बाहेक इलामको चियाले धानेको अर्थतन्त्र, समाज आदिको विषयमा यति धेरै अनविज्ञ रहेछु की यसको विषयमा कुरै नगरुँ । यहि हालत इलामका अन्य धेरै सुन्दर पक्षहरुका पनि छन् । कला फेरि पनि समाजलाई सुन्दर देखाउने बनाउने पक्ष हो यसो हुँदा समाजलाई सबैभन्दा सुन्दर गरि प्रस्तुत गर्नलाई खोज्न जरुरी छ । समाजको अनेकन सुन्दर पक्षहरुको खोजी गर्न आवश्यक छ ।
मञ्चमा प्रस्तुत हुने नाटक एक भाग मात्र हो। तर यससँगै जोडिने युवाहरुको असिम इच्छाशक्ति र त्यसलाई अवसरहरुको प्रचुरता निर्माण गर्नु पनि हाम्रो ध्येय हो । हालको समय पढेर के गर्नु छ र भन्ने युवाहरुमाझ गर्दा यहिँ हुन्छ र हामीले नै हाम्रो समाजलाई सुन्दर बनाउन सक्छौं भन्ने प्रयासहरुमध्ये यो नाटकलाई सुरुवात मान्न सकिन्छ । लगभग १७ जना युवाहरुलाई तिमी कलाकार बन्ने सम्भावना राख्न सक्छौं र हामी जुटे धेरै कुरा गर्न सक्छौं भन्ने मर्मलाई जिवित बनाउनु के चानचुने कुरा हो र ?




















































