इलामको पर्यटन प्रवर्द्धनमा साथ रहन्छ : मन्त्री किराती

  नयाँ बुलन्द
896 Shares

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले इलामको पर्यटन प्रवर्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

इलामको फाकफोकथुम र सन्दकपुर गाउँपालिकाबाट मन्त्रालय पुगेको टोलीसँग अन्तरक्रिया गर्दै पर्यटन मन्त्री किराँतीले देशको अर्थतन्त्र विकासको आधार पर्यटन प्रवद्र्धन भएकाले इलामको पर्यटन प्रवर्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।


प्राकृतिक सुन्दरताले भरिपूर्ण इलामको पर्यटन प्रवद्र्धनका लागि पर्यटन पूर्वाधारसँगै प्रचारप्रसारका काम गर्न मन्त्रालयले योजना बनाएको मन्त्री किराँतीले बताएका थिए । पर्यटन पूर्वाधारका नयाँ योजनाहरुको कार्यान्वयन गर्नका लागि मंसिरसम्म पर्खिनुपर्ने भएपनि प्रवद्र्धनका कार्यक्रमहरु संचालनका लागि मन्त्रालयले तयारी गरेकाले गाउँपालिका र नगरपालिकाबाट योजना छनौट गरि पेश गर्न मन्त्री किरातीले आग्रह गरेका थिए ।


फाकफोकथुम गाउँपालिका इलामका अध्यक्ष दिपेन्द्र खनालको नेतृत्वमा पुगेको इलामको प्रतिनिधिमण्डलको टोलीमा गाउँपालिका उपाध्यक्ष कल्पना राई, ५ नम्बर वडाका अध्यक्ष सिद्धमान आले (सुदिप), नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङ्हाङ रहेका थिए । फाकफोकथुम गाउँपालिकामा नेपाली साहित्यका अमर व्यक्ति सन्त ज्ञानदिनदासको जन्मभुमि भएकाले त्यसका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग गर्न टोलीले आग्रह गरेको थियो ।


भारतको सिक्किम र दार्जिलिङमा ज्ञानदिनदासको परिचय र उनले नेपाली साहित्यमा गरेको योगदानको चर्चा भएपनि नेपालमा खासै महत्व नभएकाले त्यसलाई विकास गर्न अन्तराष्ट्रिय महोत्सवको आयोजना र पूर्वाधार निर्माण गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको अध्यक्ष दिपेन्द्र खनालले बताएका थिए ।

अध्यक्ष खनालले फाकफोकथुम ५ स्थित लुम्दे हिलेखोला झिल निर्माणका लागि मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । जवाफमा मन्त्री किराँतीले पर्यटन पूर्वाधार निर्माणका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


यसैगरि मन्त्री किराँतीसँगै सन्दकपुर गाउँपालिकाको तर्फबाट सन्दकपुर गाउँपालिका २ का अध्यक्ष सनम राईले मागपत्र प्रस्तुत गरेका थिए । अध्यक्ष सनम राईले माईपोखरी त्रिधार्मिक पर्यटन पूर्वाधार, रेडपाण्डा प्रजनन् केन्द्र संचालन, दोस्रो सन्दकपुर पर्यटन महोत्सव आयोजना, छिन्टापु पर्यटन पूर्वाधार निर्माण, रामसार क्षेत्र माईपोखरी छिन्टापु सन्दकपुर हुँदै ढापपोखरी जोड्ने पदमार्ग संचालन लगायतका योजनाहरु कार्यान्वयका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा मन्त्री किराँतीले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयले लगानी बढाउने बताए । टोलीमा इलामको पर्यटन प्रवद्र्धनको काम गर्दै आएका पत्रकार सुजन तिमसिनाको पनि उपस्थिति रहेको थियो ।

        

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार