माङसेबुङ गाउँपालिकाबाटै श्रम स्वीकृति सुरु

  बालकृष्ण बस्‍नेत
1.1k Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार माङसेबुङले यो व्यवस्था सुरु गरेको हो । माङसेबुङ गाउँपालिकाको रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।

माङसेबुङ गाउँपालिकाले आइतबारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बुद्धिप्रसाद खतिवडाले आइतबार पहिलोपटक माङसेबुङ गाउँपालिका-२ मालबाँसेका टेकेन्द्र राना मगरलाई स्वीकृति पत्र उपलब्ध गराएका हुन् ।

मगरले कतार जानका लागि पालिकाबाटै पहिलोपटक श्रमस्वीकृति लिएका हुन् । गाउँपालिकाबाटै श्रम स्वीकृति लिन पाउँदा खुशी व्यक्त गरे ।

सरकारले गत २०७९ चैत्र १६ गतेको मन्त्री परिषद्को निर्णय अनुसार स्थानीय सरकारको स्थानीय रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति दिन निर्देशन दिएको थियो । साही अनुसार माङसेबुङले पनि पालिकाबाटै श्रम स्वीकृति दिन थालेको हो ।

वैदेशिक रोजगारमा जाने यहाँका युवायुवतीहरुले यसअघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने भएपछि सहज हुने भएको छ ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गर्दछ ।

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनुपूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि रकम तिर्नुपर्ने रकम हुन्छ । कल्याणकारी कोषका लागि एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उनीहरुलाई स्वीकृति भएको जानकारी मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार