चेम्जोङ वंशको १३ औं केन्द्रीय परिषद भेला घुर्बिसेमा सम्पन्न

  युद्धबहादुर बोहोरा
1k Shares

पाँचथरः थाकथाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघको १३ औं केन्द्रीय परिषद भेला घुर्बिसे पञ्चमीमा आइतबार सम्पन्न भएको छ । चेम्जोङ वंशका अगुवा किराँत इतिहाँसकार इमानसिं चम्जोङको बजारमा रहेको सालिक र प्रेम बहादुर मावोहाङ चेम्जोङको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको थालनी गरिएको थियो ।

 

२०५८ सालमा स्थापना भएको यस संघले चेम्जोङहरुको वंशावली प्रकाशन,भाषा,लिपी,संस्कार,संस्कृतिको उत्थान गर्दै नयाँ पीडिहरुमा आफ्नो मौलिकता,इतिहाँस,पहिचान र थाकथलो बारे जानकारी गराउँने मुख्य उदेश्यले हरेक वर्ष चेम्जोङहरुको बसोबास रहेको विभिन्न ठाउँमा भेलाको आयोजना गर्दै आएको आयोजकले जनाएको छ । यसबाट वंशलाई एक शुत्रमा बाँध्न सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

चेम्जोङसंग सम्बन्धीत ऐतिहासिक तथा पुरातात्विक स्थलको संरक्षण,सबै लिम्बू जातीका,भाषा,संस्कारको सम्वर्धन र विकृती विसंगतीको न्युनीकरण गर्न संचेतनात्मक कार्यक्रम संचालन  गरी रहेको बताइएको छ । रीतिरिवाजको जगेर्ना, इतिहाँसको खोज,अनुसन्धान र सचेतनाको विकास,आपत विपत र अप्ठ्यारोमा आर्थिक तथा मानवीय सहयोग प्रदान गर्दै आएको छ ।

आगामी दिनमा चेम्जोङको वंशावली दोस्रो संस्करण प्रकाशनको तयारी गरिएको हुँदा कसैको छुट भएमा समितिलाई जानकारी गराउँन भेला मार्फत आग्रह गरिएको छ । प्रत्येक तहमा बचत तथा ऋण कार्यक्रम संचालन गर्ने ,केन्द्र र जिल्ला तहमा अक्षयकोष स्थापन गर्ने साथै केन्द्रदेखि गाउँतहसम्म संगठन विस्तार गरिने भेलाले निर्णय पारित गरेको छ ।

यसै अवसरमा फाल्गुनन्द-५ घर भइ हाल अमेरिका बस्दै आएका विमल चेम्जोङले चेम्जोङ वंशका दुई जना विद्यार्थीलाई प्रोत्सान गर्ने उदेश्यले २५ हजार रुपैंयाँ आर्थिक सहयोग पठाएका छन् । उक्त रकमको आधा १२ हजार पाँच सय रुपैंया फाल्गुन्नद ५ निवासी राष्ट्रिय फुटबल खेलाडी पुनम चेम्जोङलाई र गत वर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने कुम्मायक ५ स्याबरुम्बाका लक्ष्मी चेम्जोङलाई १२ हजार पाँच सय रुपैंया अतिथिहरुको हातबाट प्रदान गरिएको छ । साथै हङकङ्मा रहेका चेम्जोङ वंशका दाजुभाईबाट संकलन भएको ७१ हजार रुपैंयाँ फाल्गुनन्द ५ का मृगौला पीडित देशकुमार चेम्जोङलाई हस्तान्तरण गरिएको कार्यक्रम संचालक एवं संघका केन्द्रीय सदस्य बीर नरसिंह चेम्जोङले जानकारी दिए ।

भेलामा चेम्जोङ वंशको सवैभन्दा जेठो वरियाता १२ नम्बरका डीक बहादुर र सुन बहादुरलाई पनि सम्मान गरिएको छ । हाल २० नम्बरसम्म वंशावली नम्बर पुगेको जनाइएको छ । महासचिव जितेंन्द्रराज चेम्जोङले संस्थाको प्रशासनिक तथा संगठनात्म प्रतिवदेन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

केलाङ नाच,लिम्बु नाच,हाक्पारे लगायत प्रस्तुत गरिएको उक्त कार्यक्रम संघका केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङको अध्यक्षतामा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । शुभकामना मन्तव्यमा अध्यक्ष आङ्देम्बेले चेम्जोङ वंशका विभिन्न महानुभावले राज्यमा पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै आवश्यकता अनुसारको सहयता गरिने बचन दिए । संघका पूर्वकेन्द्रीय सदस्यहरुले विगतमा गरेका कठिन कार्य र जिम्मेवारीलाई सम्हालेर अहिलेको स्थितिसम्म आइपुगेको अनुभव सुनाउँदै भावी  दिनमा सबैलाई समेटेर अगाडी बढ्न सुझाव सल्लाहसहितको मन्तव्य राखेका थिए ।

कार्यक्रममा केन्द्रीय पदाधिकारी उपाध्यक्ष गंगा चेम्जोङ,सचिव कृष्णगोविन्द चेम्जोङ,कोषाध्यक्ष मानबहादुर चेम्जोङ,सहकोषाध्यक्ष दुर्गा माया सोधुङ चेम्जोङको उपस्थिति थियो । केन्द्रीय सचिवालय सदस्य सुमन लक्ष्मी चेम्जोङ,श्याम चेम्जोङ,गुरु चेम्जोङ,गणेश कुमार चेम्जोङ,केन्द्रीय सदस्य दलसोर चेम्जोङ,सोम चेम्जोङ, केहेरसिं चेम्जोङ,आसबहादुर चेम्जोङ राजभक्त चेम्जोङ सूर्यविक्रम चेम्जोङ ,खड्‌ग बहादुर चेम्जोङसहित पार्षद र धनकुटा,ताप्लेजुङ,इलाम,पाँचथर,झापा मोरङ,सुनसरी,काठमाण्डौ,दार्जिलिङ र सिक्किमलगायतका प्रतिनिधिले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार