प्रकाशकीय : सातौं वर्षको पाइलामा हामी

  नयाँ बुलन्द
133 Shares

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ ।

२०७४ वैसाख १२ गते नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएको नयाँ बुलन्दले सातौं वर्ष प्रवेश गरेको खबर सुनाउँदा पाउँदा हामी हर्षित छौँ । हामीले विगतदेखि नै वैसाख महिनाभर वार्षिक उत्सव मनाउने गरेका छौं ।

यस अवसरमा हामी हाम्रा समस्त पाठक, श्रोता, दर्शक, विज्ञापनदाता, समाचारदाता, स्तम्भकार, सुभेच्छुक, सुभचिन्तक एवम् सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छौँ । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षीय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न नयाँ बुलन्द उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।

प्रारम्भदेखि नै नयाँ बुलन्दले मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा पहरेदार बन्नुका साथै स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्दै समाचार र विचार प्रस्तुतिमा निष्पक्षता अँगाल्दै आएको छ ।

विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । त्यसमा पनि स्रोत र साधनको अभावका बीच मोफसलमा रहेर अनलाइन पत्रिका सञ्चालन गर्न त झनै सजिलो होइन । तथापि अनेक चुनौतीहरुको सामना गर्दै हामी यसलाई निरन्तरता दिन र धेरैभन्दा धेरै पाठक/दर्शक समक्ष पुर्‍याउन लागि रहेका छौं । पाठक/दर्शकले दिनुभएको प्रेरणा र हौसलाबाट नै यति छोटो अवधिमा हामि पूर्वको लोकप्रिय अनलाइनको रुपमा स्थापित हुन सफल भएका छौं ।

थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको नयाँ बुलन्दसँग सुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर नयाँ बुलन्दले दुई वर्षसम्म संघर्षका असंख्य पाइलाहरु पूर्वेली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा छापा, टेलिभिजन, रेडियो लगायतका परम्परागत मिडियाको हुलमा नयाँ बुलन्द अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ । विविध चुनौतीलाई सामना गर्दै नयाँ बुलन्दले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं । यसबाट हामी थप उत्साहित भएका हौं ।

हामी कुनै प्रकारका प्रलोभन, लालच र पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौं । समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू निरन्तर बुलन्द गरिरहने छौं ।

नयाँ बुलन्दलाई हामीले समाचारसँगै भिडियोसहितको सामग्री हेर्न पाउने सञ्चार संस्थाको रुपमा विकास गर्ने ध्येय राखेका छौँ । अक्षरहरुमा मात्रै विश्वास नगर्ने परम्परा समाजमा विकसित हुँदै गइरहेको सन्दर्भमा हामी हरेक समाचारको सकभर भिडियोसहितको सामग्री पस्किने हाम्रो ध्येय महत्वाकांक्षी हो जस्तो लाग्दैन । त्यसैले नयाँ बुलन्द अनलाइन टिभी पनि संचालनमा ल्याएका छौं ।

वैकल्पिक र जनपक्षीय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै निरन्तर अघि बढ्ने प्रण गर्दछौं ।

अन्तमा, वार्षिकोत्सवको अवसरमा नयाँ बुलन्दले विश्वसनीय समाचार प्रसारण तथा प्रकाशनको लागि साथ दिने र सहयोग गर्नुहुने श्रोता, पाठक, साझेदार, सहयोगी तथा शुभेच्छुकहरुप्रति हार्दिक नमन र आभार व्यक्त गर्दछौं ।

रामकुमार लिम्बू (योङहाङ)

संचालक/सम्पादक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार