इलाम : नयाँ वर्षमा इलाममा आयोजना हुने इलाम-माइपोखरी म्याराथुन प्रतियोगितामा चार विदेशीसहित एक सय ३६ धावक सहभागी हुने भएका छन् ।
पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुक्रबार आयोजना गरिने म्याराथुन प्रतियोगितामा एक जना केन्याका, चार जना भारतका र एक सय ३१ नेपाली धावक सहभागी हुने भएका हुन् । जसमध्ये एक सय ११ पुरुष र २५ महिला धावक सहभागी हुने इलाम नगरपालिकाले जनाएको छ ।
पुरुषतर्फ इलाम नगरपालिका-१०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालिकाको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दुरीको म्याराथुन प्रतियोगिता हुनेछ । पुरुषतर्फ म्याराथुनको दूरी पार गर्न ४ घण्टा १० मिनेट र महिला तर्फको दूरी पार गर्नका लागि २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ ।
पुरुषतर्फको म्याराथुन विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख पचास हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।
इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा हुने म्याराथुनको तयारी अन्तिम चरणमा पुगेको इलाम नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताका सहभागी धावकलाई विहीबार स्वास्थ्यपरिक्षण गरी अभिमुखीकरण गरिने इलाम नगरपालिकाले जनाएको छ ।
इलामको पर्यटकीय गन्तव्यको रुपमा परिचित सन्दकपुर गाउँपालिकामा जारी प्रथम सन्दकपुर महोत्सवको आकर्षणको रुपमा म्याराथुन प्रतियोगिता आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।
२४ चैतदेखि जारी महोत्सव आउँदो १० वैसाखसम्म संचालन हुनेछ । ‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध राष्ट्र निर्माणको सघन निकास’ भन्ने नारासाथ जारी विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् ।
महोत्सवकै आकर्षणका रुपमा सन्दकपुरको देउरालीमा खुला नकआउट फूटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको फाइनल नयाँ वर्षमा हुनेछ ।
त्यस्तै महोत्सवको मुख्य आकर्षणका रूपमा ल्यान्डरोभर सफारी, सन्दकपुर गोल्डकप, उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतियोगिता, स्थानीय खानाका परिकार, कलाकारहरूको प्रस्तुतीलगायत राखिएका छन् । महोत्सवमा आउने पर्यटकले जिल्लाकै अग्लो डाँडो सन्दकपुर, रामसार क्षेत्र माइपोखरीसहित छिन्टापु, मेची क्षेत्रकै अग्लो टोड्के झरनालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सक्नेछन् ।
गुरुङ, राई, शेर्पा, सुनुवार, ब्राह्मण-क्षेत्रीलगायत जातजातिको बसोबास रहेको क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, याक, भोटे कुकुर तथा पर्यटकीयस्थलको भिडियो प्रदर्शनीसमेत राखिएको आयोजक मूल समारोह समितिले जनाएको छ ।