आउँदो चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने

इलाम : इलाममा आउँदो चैत २६ र २७ गते लुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ ।

जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम साहित्य महोत्सव आयोजना गर्न लागिएको बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ।

इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेको हो। पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुने महोत्सवमा नेपाल र भारतका डेढ सय साहित्यकारको सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।

महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका  साहित्यकारको सहभागीता नगर कला साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिबासी सौन्दर्य चेतना, महाभारादेखि टिष्टासम्म, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, कोशी प्रदेश कहिले बन्छ १ नम्बर प्रदेश लगायतका विषयमा छलफल हुने थाम्सुहाङले जानकारी दिए ।

२०७६ मा साहित्य महोत्वस आयोजना गरिएको थियो। तर कोभिडका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिए पनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार