इलाम : बढ्दो कृषि उपजको आयात घटाई निर्यात बढाउने उदेश्यले इलामको माङसेबुङ गाउँपालिकाले चालू आर्थिक वर्षदेखि विभिन्न ६ प्रकारका कृषि उपजमा अनुदान दिने भएको छ । गाउँपालिकाले दूध उत्पादन, दाल उत्पादन, स्कूस उत्पादन, केराखेती उत्पादन, कफि उत्पादन र बाँस उत्पादन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमको नाममा गाउँपालिकाले सोझै अनुदान दिने भएको हो ।
पछिल्लो पुस्ताको युवाहरु वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हटाउँदै व्यावसायिक कृषि उपज उत्पादनमा वृद्धि गर्ने लक्ष्यका साथ माङसेबुङ गाउँपालिकाले कृषि उपज उत्पादनमा अनुदान दिने तयारी गरेको हो ।
गाउँपालिकाले निश्चित मापदण्ड बनाएर अनुदान दिने भएको हो । चुरे क्षेत्रमा हुने भुक्षय रोक्ने उदेश्यका साथ बाँस रोपण गर्ने कृषकले पनि अनुदान पाउनेछन् । त्यसबाहेक दूध, दाल, स्कूस, केरा र कफि खेती गर्ने कृषकले गाउँपालिकाको मापदण्ड अनुसार मुल्य अनुदान पाउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दूध उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत दैनिक २० लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकलाई प्रतिलटर दुई रुपैयाँ अनुदान दिने भएको छ । त्यसका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै दाल उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत एक क्विन्टल बढी दाल उत्पादन गर्ने कृषकलाई प्रतिकिलोग्राम २० रुपैयाँ दिने भएको छ । त्यसका लागि तिन लाख रुपैयाँ विनियोजन गरेको छ ।
स्कूस उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत २० झ्याङ भन्दा बढी स्कूस रोप्ने कृषकलाई प्रतिझ्याङ एक हजार रुपैयाँ दिने भएको छ । त्यसका लागि तिन लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी केराखेती उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ५० झ्याङ भन्दा बढी केरा रोप्ने कृषकलाई प्रतिझ्याङ एक सय रुपैयाँ दिने भएको छ । त्यसका लागि पचास हजार रुपैयाँ विनियोजन गरेको छ ।
कफि उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत प्रतिकिलोग्राम २० रुपैयाँ दिने भएको छ । त्यसका लागि तिन लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले बाँस उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत २५ झ्याङ भन्दा माथि मलिबाँस रोप्ने कृषकलाई प्रतिझ्याङ एक सय रुपैयाँ दिने भएको छ । त्यसका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ ।
माङसेबुङको पछिल्लो क्षेत्रमा दूध उत्पादन र स्कूष उत्पादन बढी हुने गर्दछ । तल्लो क्षेत्रमा भने दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ । मध्यम क्षेत्रमा कफि उत्पादन हुने गर्दछ ।
मुख्यगरी कृषिमा व्यावसायिकरण गर्ने र आर्थिक उपार्जन गर्ने लक्ष्य रहेको यो कार्यक्रमका लागि गाउँसभाले १६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
अनुदान दिनका लागि गाउँपालिले प्रत्येक वडाको कृषककहाँ गएर उत्पादित कृषि उपजको नापजाँच भइरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले बताए । ‘कृषकलाई अनुदान दिनका लागि नापजाँच गर्ने काम भईरहेको छ । सबै वडाको नापजाँच सकेर एकैपटक भुक्तानी दिने तयारी छ’ प्रमुख प्रशासकीय अधिकृत चौहानले भने, ‘हिउँदे सभा अगावै नापजाँचको तथ्याङ्क आउँछ । तथ्याङ्क आएपछि केकति बजेट खर्च हुने थाहा हुन्छ । यदि यसअघि विनियोजित बजेटले अवुग हुने अवस्था आए गाउँसभाले आवश्यक निर्णय गर्नेछ ।’