फाकफोकथुममा भव्यताका साथ सोनाम ल्होछार मनाइयो (फोटो फिचर)

  युद्धबहादुर बोहोरा
1.2k Shares

इलामः फाकफोकथुम गाउँपालिकामा सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार २८५९ भव्यताका साथ मनाइएको छ । नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व यस समुदायको बाहुल्यता रहेको २ नम्बर वडास्थित भाजीमान डाँडामा धुमधामका साथ मनाइएको हो । नेपाल तामाङ घेदुङ फाकफोकथुम गाउँपालिकाको आयोजनामा घेदुङका अध्यक्ष नरबहादुर तामाङको अध्यक्षतामा पालिका अध्यक्ष दिपेन्द्र खनाल प्रमुख अतिथि साथै उपाध्यक्ष कल्पना राईको विशेष आतिथ्यतामा मनाइएको छ ।

प्रमुख अतिथि अध्यक्ष खनालले उक्त कार्यक्रमको उद्घाटन गर्दै २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व.मनामोहन अधिकारीको कार्यकालमा नेपालको राष्ट्रिय पर्वमा सूचीकृत भएको सोनाम ल्होछारको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका थिए । बौद्ध धर्मावलम्बीको नयाँ वर्षको यो पर्वमा मन्तव्य राख्दै उनले पालिका भित्रका सबै जातजातीका हरेक पर्व,संस्कार र संस्कृतिको संरक्षण तथा प्रर्वद्धमा समावेसीरुपमा सहयोग गर्ने बताए ।

पालिकाले आवश्यकतालाई पहिचान गरी प्रथामिकताको आधारमा विकास निर्माणदेखि अन्य सम्पूर्ण काम गरिने जनाए । क्षेत्रीय रुपमा पालिका प्रमुख र उपप्रमुख एउटै भूगोलका भएको र पालिकाका योजना त्यसै ठाउँमा विनियोजन गरिएको भन्दै झुटो अफवाह फैलाएर नागरिक र जनप्रतिनिधि बीचको सम्बन्धमा दरार उत्पन्न गर्न केही मानिसले चेष्टा गरेको सुनिएको भन्दै दुःख व्यक्त गरे । यस्तो गलत र नकारात्मक सन्देश समाजमा नछर्न पनि यसैपर्व मार्फत सद्बुद्धि मिलोस् भन्ने कामना गर्दै त्यस्ता अराजक तत्वलाई सुध्रिन आग्रह गरे । जनप्रतिनिधि कुनै पार्टीको मात्रै नभई आम पालिका बासीको अभिभावक भएकोले सबै नागरिकको हितमा काम गर्ने अध्यक्ष खनाल र उपाध्यक्ष राईले प्रतिवद्धता जनाए । घेदुङलाई भौतिक संरचना निर्माण र आवश्यक्ता अनुसारको अन्य सहयोग पनि गरिने उनीहरुले बताए ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ पालिका अध्यक्ष मुना राई,जनप्रतिनिधि,विभिन्न संघसंस्थाका,पार्टी प्रतिनिधि र स्थानीयको उपस्थितिमा लामागुरु पूर्ण थिङ्द्वारा धार्मिक पाठपूजा कार्यक्रम ८ गते र ९  गतेका दिन औपचारिक तथा विविध साँस्कृतिक र धार्मिक कार्यक्रम  सञ्चालन गदै सम्पन्न गरिएको छ । ल्होछार मुलतः पुरानो बर्षलाई विदा गरी नयाँ बर्ष प्रारम्भ गर्ने र संस्कृतिको रुपमा मनाइने तामाङ जातिको एउटा मौलिक पर्व भएकाले २०४८  सालमा यस पालिकामा घेदुङको स्थापना भएको छ ।  घेदुङले पालिकाका विभिन्न क्षेत्रहरुमा वार्षिकरुपमा सोनाम ल्होछार मनाउँदै आएको छ । भाषा,संस्कार संस्कृति,भेषभुषालगायत विभिन्न तालिमहरु प्रशिक्षण गराउँदै आफ्ना भावीहरु सन्ततीलाई यसको महत्व बारेमा चेतना फैलाउन र पुस्ता हस्तान्तरण गर्ने उदेश्यसहित पर्व मनाउदै आएको जनाइएको छ ।

घेदुङका नाममा हाल भाजीमान डाँडामा स्थानीय समाजसेवीले करिब १५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । जग्गादाताहरुलाई आगामी दिनमा सम्मान गरिने जनाएको छ । उक्त जग्गामा घेदुङको नाममा खेल मैदान र सभाहलको निर्माण गरिने योजना रहेको अध्यक्ष तामाङले बताए । यसको लागि सबै पक्षले सहयोग गर्न पनि आग्रह गरेका छन् । यस क्षेत्रमा शौचालय,खानेपानी,सडक संरचना लगायत अन्य भौतिक पूर्वधारको आवश्यक रहेको छ । यस समुदायका मौलिक बाजाहरु डम्फु,टुङ्ना,झ्याम्टा,झ्याली,भेषभूषासहित युवा पिंडीलाई प्रशिक्षणको समेत खाँचो भएको घेदुङले जनाएको छ ।

हाल पालिकाको वडा नम्बर १ मा साङ्गे चोयोदाम्दे छोइलिङ् गुम्बा निर्माण भइसकेको छ । अब,वडा नम्बर २,६ र ७  को सिमानामा शान्तेलिङ बौद्धगुम्बा निर्माण हुने तयारीमा छ । उक्त गुम्बा निर्माणको लागि सात रोपनी जग्गा निःशुल्क स्थानीयले प्रदान गरेका छन् । गुम्बामा हरेक वर्षको बुद्धजयन्ती मनाइने र प्रत्येक महिनाको दशमीमा पाठ पूजा गरिने पनि चलन छ । उक्त गुम्बाहरुमा निम्न आर्थिक अवस्था भएका तामाङ जातिका परिवारले  इच्छानुसार आफ्नो विवाह,घेवालगायतका कर्महरु गर्न पाइने चलन छ ।

यसै पर्वका अवसरमा घेदुङले भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त खेलमा विजेता र उपविजेता टिमलाई पनि पुरस्कृत गरिएको घेदुङ वडा नम्बर २ का सचिव तेजबहादुर तामाङले जानकारी दिए ।

डम्फु सेलो,गीत र विभिन्न नाचसहितको कार्यक्रममा घेदुङ पालिका सल्लाहकार पदम तामाङले स्वागत मन्तव्य राखेको थिए भने सदस्यद्वय खड्ग तामाङ र दिपक तामाङ्ले कार्यक्रम संचालन गरेको थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार