इलामः नेपाल चलचित्र कलाकार संघ (फान) का सदस्य एवं समाजसेवी रितेशजङ्ग खत्री सम्मानित भएका छन् ।
फाकफोकथुम-१ घर भइ हाल इटहरीलाई कर्मथलो बनाएर चलचित्र क्षेत्र र विभिन्न सामाजिक कार्यमा जुटेका उनलाई आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नम्बर १ ले सम्मान गरेको हो ।
विहिवार सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारस्थित म्याजिक सिनेमा हलमा महासंघद्वारा आदिवासी जनजाति चलचित्रको महत्व र आवश्यकता सम्वन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । कलाकार तथा समाजसेवी खत्रीले कलाकारिताको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउने र जातजातीको धार्मिक सहिष्णुता कामय राख्न आदिवासी जनजाति चलचित्रको महत्व झल्किने खालको कलासहित अन्य धेरै क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ ।
प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’, महासंघका प्रदेश नम्बर १ अध्यक्ष ज्योतिषराज राई,महासचिव सुमन तामाङले खत्रीलाई कदरपत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा केन्द्रबाट कलाकार तथा क्याप्टेन विजय लामा,मोडल एलिसा राई,चर्चित निर्देशक मिलन चाम्सलगायतका अतिथिले सम्मान गरिएको थियो ।
चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ को कार्यसमिति सदस्य समेत रहेका कलाकार खत्री सामाजिक अभियन्ताको रुपमा पनि सकृय छन् । उनले आर्थिक अवस्था कमजोर भएर समस्यामा गुज्रिरहेका विभिन्न क्षेत्रमा बिरामीलाई उपचार सहयोग जुटाउन र उद्दार गर्न अगुवाइ गरेका छन् । साथै विभिन्न सामजिक कार्यमा साथ सहयोग गर्दैआएका खत्रीको पहलमा धार्मिक क्षेत्रको भौतिक संरचना निर्माणलगायतका काम भइरहेका छन् ।