दशैमा पनि सुनसान इलामका बजार

चहलपहल बढेपनि सुनसान दशैँ बजार

इलाम । नेपालीका महान पर्व दशैँ, तिहार र छठले विश्व बजारकै ध्यान तान्छ । नेपाली उद्योगले पनि यी पर्वलाई केन्द्रित भएर आफ्ना उत्पादन बढाउने गरेपनि यसपालीको दशैँमा इलामका व्यपारीक केन्द्रमा खरिदबिक्रि अघिल्ला दशैँको तुलनामा हुन सकेन ।
दशैँमा परिवारको पुनः मिलन र नयाँ लुगासँगै मिठो परिकारमा नेपाली रमाउने चलन छ । नेपाली अर्थतन्त्रलाई पूर्णरुपमा चलायमान बनाउने दशैँ पहिलो ठुलो चाड हो । दशैँमा हरेक सामानको खरिद बिक्रि हुन्छ । तर यसपाली इलामका व्यापारीक केन्द्रमा दशैँको चहलपहल सधैँको जस्तो छैन ।


अघिल्ला २ वर्षका दशैँमा कोरोना माहामारीका कारण खासै चहल पहल थिएन । माहामारीले अर्थतन्त्र ठप्प थियो । अहिले कोरोना पूर्ण निर्मुल नभएपनि पूर्ण खोप लगाउनेको संख्या बढी भएकाले बजारमा चलहपहल धेरै छ । बजार क्षेत्रमा चहल पहल बढी भएपनि खरिद बिक्रि खासै नभएको सूर्योदय १० फिक्कलका कपडा व्यवसायी पदम बहादूर लिम्बुले बताए ।
नेपाली बजार चीनमा उत्पादन भएका सामग्रीहरुले ओगटेको छ । बजारमा पाइने फेन्सी कपडा र जुत्ता चीनबाट आयात हुन्छ । फुलफुलपनि धेरैजसो चीनबाट आयात हुन्छ । आयातमुखि अर्थतन्त्र अनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले लत्ताकपडा र उपभोग्य सामग्रीको मूल्य बढेकाले खरिद बिक्रि कम भएको मिठाइ व्यवसायी हरि तामाङको भनाइ छ ।


इलामका धेरै नागरिक चिया, अदुवा, अलैची र अम्रिसो जस्ता नगदेवालीमा निर्भर छन् । उनीहरुको मुख्य आम्दानीको श्रोत नगदेवाली भएपछि उद्योगी व्यवसायीले कच्चापर्दाथको भुक्तानी कम गरेका कारण सधैँको तुलनामा ५० प्रतिसतले खरिदबिक्रि घटेको भाडा व्यवसायी मिलन खड्काले बताए ।
हुनत दशैँलाई हुनेखानेको चाडपर्व, नहुनेका लागि दशा भन्ने उखान छ । झुपढीदेखि महलमा बस्ने सम्मले आफ्नो क्षमता अनुसार चाडपर्व मनाउने गरेपनि यसपाली बढ्दो मूल्यवृद्धिले इलामबासीलाई असर पारेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार