इलाम : आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन, सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउँदैछ । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तीनै तहको सरकारले संविधान दिवस मनाउँदैछ । सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विगतदेखि नै हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । तर गठबन्धनभित्रकै एक दल जनता समाजवादी पार्टी (जसपा) ले यसवर्षको संविधान दिवसको कार्यक्रममा समेत सहभागी नहुने भएको छ । साथै ‘कालो दिवस’ पनि नमनाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जनाएको छ । संविधान जारी भएदेखि नै विभेदकारी भन्दै संविधान नै पुनर्लेखन गर्नुपर्छ भन्दै आएको जसपाले संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्नसमेत आह्वान गरेको छ । नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको भनाइ छ । २०७२ असोज ३ गते जारी भएको संविधान विभेदकारी भएको भन्दै संविधान जलाएर आन्दोलनमा होमिएको जनता समाजवादी पार्टीले विगतदेखि नै संविधान दिवस वहिष्कार गर्दै आएको छ । नयाँ संविधान जारी भएसँगै संविधानको विरुद्धमा जनता समाजवादी पार्टीसहित पहिचान पक्षधर पार्टीहरूले देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र संविधान जलाएको थियो । संविधानको विरोधमा भएको मधेस आन्दालनमा मात्र ६० बढीको ज्यान गएको थियो । सोही बेला ६ महिनासम्म नाकाबन्दीसमेत भएको थियो । मधेस र लिम्बुवानमा ब्ल्याकआउट यता जनता समाजवादी पार्टीबाट भर्खरै विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने उक्त दिन ‘कालो दिवस’ मनाउने भएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह निर्देशन दिएका छन् । मधेसको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेसवादी दलहरूले कालो दिनको रूपमा मनाउँदै आएका छन् । यस्तै लिम्बुवानसहित देशका विभिन्न क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संस्थाहरूले भने असोज ३ लाई ‘कालो दिन’ का रूपमा मनाउने भएका छन् । विभिन्न विरोधका कार्यक्रम गरी संविधान दिवसको विरोध गरी ‘कालो दिवस’ मनाउने भएका हुन् । नेपालमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।
‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरू परिवर्तनका लागि उक्त दिन असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरूमा संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आमजनसमुदाय एवं पार्टीको संगठनहरूलाई आह्वान गरिन्छ ।’