छानबिन चलिरहेकै समयमा चर्चामा चेप्टी,एकपछि अर्को गर्दै तथ्य खुल्दै

  नयाँ बुलन्द
1k Shares

इलाम : इलामको चुरे क्षेत्रको सरकारी जग्गा हडपेर व्यवसाय चलाएको उजुरी परेको ह्याप्पी ड्रिम्स प्रालिमाथि सरकारी छानविन चलिरहेको छ ।

यही समयमा कम्पनीले गाउँमा मृतकको शव जलाउने घाट समेत कब्जामा लिएको अर्को तथ्य खुलेको छ । इलामको माई नगरपालिका वडा नम्बर २ र ८ मा रहेको चुरे वनको जमिननै भू–माफियाको समूहले कब्जा गरेको र सखुवा जातको रुख कटान गरेको खुलेपछि छानबिन गर्न डिभिजन वन कार्यालय इलामले समिति नै गठन गरेको छ ।

छानबिन चलिरहेकै समयमा एकपछि अर्को गर्दै कम्पनीका अन्य गैह्रकानूनी काम समेत छरपष्ट हुन थालेका छन् । कम्पनीले वडा नम्बर २ चेप्टीस्थित माईखोलामा रहेको घाट भएको स्थान समेत कब्जा गरेर पार्क निर्माण गरेको हो ।

फनपार्क निर्माणका नाममा मृत्यु संस्कार गर्ने घाट समेत नछोडिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । चेप्टीका स्थानीय अनुपसिंह मगरले भने– अहिलेसम्म गाउँमा त्यस्तो नराम्रो घटना त घटेको छैन, त्यो हाम्रो आर्यघाट पनि हो । कसैको मृत्यु भए जलाउने स्थानमै फन पार्क छ । अब त्यहाँ लान त पक्कै दिँदैनन्, त्यसैले समस्या भयो ।

उनले स्थानीयसँग फनपार्कले सरसल्लाह नगरी काम अघि बढाएको बताए । यतिमात्रै होइन यो समूहले स्थानीय सरस्वती सामुदायिक बनको भवन निर्माणका लागि खरिद गरिएको २ रोपनी जमिनमा पनि पार्क बनाएको मगरले जानकारी दिए ।

त्यस्तै, कम्पनीले स्थानीय कुमाल गाउँ जाने बाटो समेत बन्द गरेर अतिक्रमण गरेको स्थानीयले गुनासो गरेका छन् । चेप्टीका अर्का स्थानीय शंकर कुमालका अनुसार २०५७ सालता अहिले पार्क भएको स्थानमा माईखोलाको घुमाउने दह रहेको थियो । उनले भने– खोलाले छोडेपछि त्यहाँको खेतीयोग्य जमिन खम्बा सिंह लिम्बू, प्रेमबहादुर र सुकबहादुर लिम्बूले धान खेती गर्थे । पछि त्यही जग्गा बेचियो भन्ने कुरा सुनियो ।

त्यही जग्गाबाट हाम्रा गाउँले दिदीबहीनीहरु घाँसदाउरा गर्न जाने आउने गर्नुहुन्थ्यो । तर, अहिले त्यो बाटो पार्कमै पर्छ । पार्क छिर्न एकपटकको डेढ सय रुपैयाँ तिनुपर्छ । त्यसले गर्दा हामीलाई समस्या भएको छ । त्यस्तै पार्कमा बाँधिएको बाँधले कुमालटार गाउँ नै डुवानमा पर्ने सम्भावना रहेको उनले बताए ।

अर्का स्थानीय नारायणकुमार मगरले कम्पनीले पशुचरन र घाँसदाउरा बोक्नका निम्ति स्थानीयले प्रयोग गर्दै आएको जंगल पस्ने बाटो समेत कब्जा गरेको बताए । गैह्रकानूनी काम गर्ने जोसुकै भए पनि कडा कानूनी कार्वाही गरिनुपर्ने स्थानीयले माग गरेका छन् ।

संवेदनशील चुरे क्षेत्रमा प्रारम्भिक वातावरण परीक्षण समेत नगरी निर्माण थालिएको फनपार्कमा एक बैंकले समेत १७ करोड रुपैयाँभन्दा बढी रकम प्रोजेक्ट ऋण वापत लगानी गरेको बुझिएको छ । अर्बौ रुपैयाँको लगानीमा ह्याप्पी ड्रिम्स प्रालिले माई नगरपालिकाको चेप्टी भन्ने स्थानमा फनपार्क बनाउने नाममा सरकारी जमिन कब्जा गरेको हो ।

वन कार्यालयका कर्मचारी, माई नगरपालिका वडा नम्बर २का तत्कालीन वडाध्यक्ष तथा हालका मेयर खम्बासिंह लिम्बूसँगको मिलेमतोमा झापा सुरुङ्गाका दिनेश शिवाकोटीले चुरे क्षेत्रको सामुदायिक वनको जमिन हडपेर पार्क बनाएको सार्वजनिक भएको थियो । कम्पनीको गैह्रकानूनी काम सार्वजनिक भएपछि कानूनी कार्वाहीबाट जोगिन भू–माफियाको समूह केन्द्रीयस्तरका राजनीतिक दलका नेताहरुसँगको भेटवार्ता गर्न केही दिन अघि राजधानी काठमाडौ पुगेको थियो ।

यसैबीच फनपार्कका सञ्चालक शिवाकोटीले विभिन्न सञ्चारमाध्यममा विज्ञप्ति निकाल्दै सरकारी जग्गा प्रयोग गरेको स्वीकार गरेका छन् । उनले आफूले सरकारी जग्गा संरक्षण गर्न प्रयोगमा ल्याएको उल्लेख गरे । वनको रुख खाटिएको विषय तथा जग्गा हडपेको विषयमा छानविन शुरु भएपनि त्यसलाई प्रभावित बनाउन केही गिरोह सक्रिय रुपमा लागेको स्रोतले दावी गरेको छ ।पुर्वान्चल दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार