माधव नेपालको क्षमतामै प्रश्न

  नयाँ बुलन्द
77 Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको दुर्वाच्य सहन नसकेर एकीकृत समाजवादी पार्टी खोल्नुभएका त्यस पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै चेलाचपेटाबाट अपमानित हुन थाल्नुभएको छ । जब एउटा अभिभावक आफ्नै घरभित्रै हेपिन थाल्छ, घरबाहिर उसलाई टेर्नुपर्ने बाध्यता घट्दै जान्छ । डेढ दशक एमालेको महासचिव भएर एकछत्र राज गरेका पूर्वप्रधानमन्त्री नेपालका हकमा अहिले त्यही भइरहेको छ ।

पार्टी सचिवालयको बैठकले गरेको निर्णय यति चाँडै रद्दीको टोकरीमा जाला भनेर नेपालले शायदै कल्पना गर्नुभएको थियो । मन्त्री फेर्ने प्रस्तावको प्रतिरक्षामा त्यस पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्ति झन् सुन्नलायक थियो ।

सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाउने र त्यस ठाउँमा अरुलाई पठाउने एकीकृत समाजवादी पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साक्षी राखेर उल्टाइयो । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले चार मन्त्री फिर्ता बोलाउने र एक राज्यमन्त्रीलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यस्तै मन्त्रीका लागि मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानी खापुङ र शेरबहादुर कुँवरको नाम पठाइएको थियो । स्वयं नेपालले नै नाम देउवालाई बुझाउनु भएको थियो । मन्त्रीका लागि सिफारिस नेताहरुले बधाई खाइसकेका थिए । तर नेपाललाई पार्टी फुटाउन उक्साउने एकाध मन्त्रीको चलखेलले पार्टी निर्णय खोटो मोहोरजस्तै बन्यो । उधारो आश्वासन र थमौती पाएका दुवैको विश्वास नेपालले गुमाउनु भएको छ ।

यस प्रकरणले नेपालको राजनीतिक अभिभावकत्वमा प्रश्नचिह्न लागेको छ । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेका मन्त्रीहरु अब पार्टी र अध्यक्ष नेपालप्रति होइन, देउवा र दाहालप्रति वफादार भएका छन् । किनभने उनीहरूले आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगरिदिन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग आग्रह गरेका थिए ।

अझ शीघ्र चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई उक्साएर पार्टी निर्णय सेलाउने प्रयासमा लागे । मन्त्री फेर्ने प्रकरणमा नेकपा एसको निर्णय र माधव नेपालको सिफारिस अलपत्र पर्नुको अर्थ हो गठबन्धनमा अब माधव नेपालको उपयोगिता सकिनु । कांग्रेसले अपेक्षा गरेअनुसार एमालेलाई हराउन एकीकृत समाजवादी असमर्थ भयो । बरु धेरै ठाउँमा नेकपा एसका नेताहरु एमालेको पक्षमा खुलेर लागे ।

समाजवादीका धेरै नेताहरु सूर्य चिह्नबाट चुनाव लड्नकै लागि भए अब संघीय संसदको चुनावसम्म एमाले प्रवेश गर्ने लहर चल्ने अनुमान गर्न थालिएको छ । यसकारण पनि नेपालको शक्ति क्षीण बन्दै गएको बुझ्न कठिन छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार