आफ्नो चिहान आफैं निर्माण गर्ने पाँचथरका एक दम्पती

  नयाँ बुलन्द
350 Shares

 

पाँचथरः फालेलुङ गाउँपालिका-८ याङनामका ८४ वर्षीय मनप्रसाद कुरुम्वाङ श्रीमती बुधरानीसँग घरनजिकैको चिहानमा पुग्छन् । झट्ट परबाट हेर्दा यो चिहान मन्दिरजस्तो देखिन्छ । काठको दलिन र काठकै बिम हालेर उठाइएको यसको माथिल्लो भाग जस्ता पाताको छानाले यो मन्दिरजस्तै देखिएको हो । जसभित्र दुईवटा पक्की चिहान छन् ।

त्यसको छेउछाउमा रोपेका फूल र फलफूलका बिरुवा गोडमेल गर्छन् अनि चिहानको भित्री भागमा थुप्रिएका फोहोर कसिंगर बढारेर घर फर्किन्छन् । मनप्रसाद दम्पतीले पाँचवर्ष अघि १ लाख १२ हजार ६३ रुपैयाँ खर्चेर बनाएको यी दुई चिहान अरु कसैको नभएर उनीहरुको आफ्नै हो । आफू मरेपछि छोरा छोरी, नातागोता र इष्टमित्रले कष्ट सहनु नपरोस् भनेर आफ्नो लागि मर्नु अघि आफैंले कमाएको पैसा खर्चेर चिहान बनाएको मनप्रसादले बताए । उनले भने, ‘मृत्यु पछि चिहान खन्न, ढुंगा बोक्न मनग्गे श्रम लाग्छ । श्रमको त्यो भार अरुले बेहोर्न नपरोस् भनेर यसो गरेको हुँ ।’

मृत्युपछि आफैंलाई राख्न जिवित छँदै चिहान बनाउने मनप्रसाद दम्पतीको अनौठो कामबारे छरछिमेकका मान्छे अच्चम पर्छन् । अनि कति त उनीहरुले बनाएको यो चिहान पनि हेर्न पुग्छन् । किरात याक्थुङ चुम्लुङका पूर्व जिल्ला अध्यक्ष एवं मनका छिमेकी नरेन्द्रराज केरुङ मनप्रसाद दम्पतीको काम देखेर अनौठो मान्छन् । अरुलाई जस्तै उनलाई पनि मन दम्पतीले जिवितै छँदा चिहान बनाउन थालेको सुनेर नौलो लागेको थियो । उनले भने, ‘यो दम्पतीको उत्सुकता देख्दा मलाई अचम्म लाग्छ । मान्छे मर्न डराउँछन् तर उनीहरुले मत्यु पूर्व नै चिहान बनाइसके ।’ उनीहरुले बनाएका दुवै चिहानमा ढोका पनि छ । उनले सुनाए, ‘हाम्रो मृत्युपछि बाकसमा शव ल्याएर चिहान भित्र राखी ढोका बन्द गरिदिनु भनेर छोरा बुहारीलाई अर्‍हाएका छौं ।’

कुरुम्वाङ दम्पती छोराबुहारीका साथ बस्छन् । दुईमध्ये एक छोराबुहारी नजिकै छुट्टिएर बसेका छन् । छोरीहरु हङकङ र सिंहापुरमा छन् । मनप्रसाद दम्पतीका छोरा यामले भने, ‘घुम्दै जाँदा वा बिरामी भएर उपचारका लागि लैजाँदा जहाँ मरेपनि यहिँ ल्याएर राखिदिनु भनेर अर्‍हाउनु भएको छ ।’ मनप्रसादको अर्को सपना पनि छ, चिहान वरपर आफूले रोपेका फलफूलका बिरुवा फल्न थालून र यो बाटो हुँदै हिँड्ने बटुवाले धित मरुन्जेल खान पाउन् । मनप्रसादले मृत्यु अघि नै चिहान बनाउने प्रस्ताव सुरुमा घरका सबै सदस्यलाई सुनाएका थिए । आफू मरेपछि आफ्नो शव कस्तो ठाउँमा राख्ने भन्नेबारे आफूलाई मनले केही कुरा भनेको र आफूले त्यही गर्ने सोच बनाएको कुरा उनले घरमा सबैलाई भने । सुरुमा परिवारका सदस्यहरूले अचम्म माने पछि सबैले उनको प्रस्ताव माने । मनप्रसादले भने, ‘त्यसपछि घर नजिकै रहेको आफ्नै जग्गामा श्रमिकलाई ज्याला दिएर चिहान बनाउन लगाएँ ।’

मनप्रसादले दम्पतीका लागि बनाएको यो चिहानँसगै निधन भएकी जेठी श्रीमती खड्ककुमारीको स्मरणमा कपुरखाना बनाएका छन् । लिम्बू समुदायले मृत्यु भएका मानिसको स्मरणमा बनाउने चिहान जस्तै संरचनालाई कुपरखाना भन्दछन् । मनप्रसादलाई आफू र श्रीमती कहिले मर्छौं भन्ने थाहा छैन । तर मृत्यु सास्वत सत्य हो एकदिन अवश्य मर्नुपर्छ र मर्नलाई डराउँनु हुँदैन भनेर चिहानसम्म दम्पतीकै लागि शव बोकेर लैजानका एकजोर काठका कफिन जस्तै बाकस तयार गरेका छन् । स्थानीयकर्मीले नै बनाएका यस्ता बाकस तयार पार्न उनले २० हजार रुपैयाँ खर्चिए । मनप्रसाद जीवनको सार खिपेझै गरेर सुनाउँछन्, ‘मान्छेका चोला फेरी पाइला नपाइएला बाँचुन्जेल हाँसिखुशी छौं, सफा सुग्घर हाँसिखुसी बसेका छौं, त्यसैले मरेपछि बस्ने घर आफ्नै इच्छा अनुसार बनाएको हुँ ।’ इकान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार