वैदेशिक रोजगार : दोश्रो विवाह गर्नेमा महिला भन्दा पुरुष नै बढी

  नयाँ बुलन्द
112 Shares


इलाम : पति वैदेशिक रोजगारीमा गएका महिलाहरुको तुलनामा पत्नी वैदेशिक रोजगारीमा गएका पुरुषहरुले दोश्रो विवाह गर्ने क्रम बढी देखिएको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीको पाश्र्वचित्र बनाउन संकलन गरेको तथ्याङ्कले महिलाको तुलनामा दोश्रो विवाह गर्ने पुरुषको अनुपात बढी रहेको पाईएको हो ।

तथ्याङक अनुसार इलाम नगरपालिका क्षेत्रमा मात्र विदेश गएका १ सय ३६ जना विवाहित महिलामध्ये यहाँ रहेका उनीहरुका २६ जना अर्थात १३ प्रतिशत पतिले दोश्रो विवाह गरेका छन्  । तर विदेश गएका ८ सय ७९ जना विवाहित पुरुषमध्ये यहाँ रहेका उनीहरुका २२ जना अर्थात १ दशमलव ७७ प्रतिशत पत्नीले दोश्रो विवाह गरेको पाईएको छ ।

यहाँ १ हजार ४ सय १५ परिवारका १ हजार २ सय ३७ पुरुष र २ सय २ जना महिला वैदेशिक रोजगारीमा छन् । जसमध्ये ८ सय ७९ पुरुष र १ सय ३६ महिला विवाहपछि वैदेशिक रोजगारीमा गएका छन् ।

उता पाँचथर, मोरङ, सुनसरी र भोजपुर जिल्लाको एक-एक वटा पालिकाको तथ्याङ्कमा समेत महिलाको तुलनामा दोश्रो विवाह गर्ने पुरुषको अनुपात धेरै देखिएको छ । चार जिल्लाको वैदेशिक रोजगारीमा रहेका ४ हजार ३ सय ८७ पुरुषमध्ये एक हजार २ सय ५५ विवाहित छन् । एक हजार २ सय ५५ पुरुषका ४५ जना अर्थात् ३ प्रतिशत पत्नीले दोश्रो विवाह गरेका छन् । त्यस्तै वैदेशिक रोजगारीमा ५ सया १३ महिलामध्ये १ सय ६० विवाहित छन् । १ सय ६० महिलाका ५४ जना अर्थात् ३४ प्रतिशत पतीले दोस्रो विवाह गरेको तथ्याङ्कमा उल्लेख छ ।

पति वैदेशिक रोजगारीमा गएका पत्नीलाई समाजमा विभिन्न लाच्छना लगाउने गरिएको भएपनि ययार्थमा त्यस्तो अवस्था नभएको परियोजना अधिकृत रामकुमार कर्णले बताए । ‘हाम्रो समाजमा पती विदेश गएको छ भने, पत्नीलाई विभिन्न आक्षेप र आरोपहरु लगाउने प्रचलन गरको छ, तर अथार्थ त्यस्तो छैन’ कर्णले भने, ‘यसले वैदेशिक रोजगारीमा गएका पतीका पत्नीहरुले गम्भीर प्रकृतिको मानसिक समस्या भोग्नुदेखि आत्महत्यासम्म रोज्न बाध्य भएको पाईएको छ ।’

नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा २०७६ मंसिरदेखि इलाममा सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन भईरहेको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा परियोजना सञ्चालन भईरहेको छ ।

परियोजना अन्तरगत घरदैलो सचेतना, प्रत्यक्ष रुपमा राहादानी जिल्ला प्रशासन कार्यलय पुग्ने सेवाग्राहीलाई त्यहाँ स्थापित इलाम नगरपालिका आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी निःशुल्क सुचना तथा परामर्श दिने, निःशुल्क कानूनी सहायता, निःशुल्क सीप तालिम तथा सीप सिकेर मात्र विदेश जान जानकारी गराउँदै आएको छ ।

त्यस्तै वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श, गहन अभिमुखीकरण, सामुदायिक अभिमुखीकरण निःशुल्क सीपमूलक तालिमका लागि सिफारिसलगायतको कार्य गर्दै आइरहेको परियोजना संयोजक इश्वरी तामाङले जानकारी दिए ।

परियोजना ३१ असार २०७९ सम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार