पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम तेह्रकुने सिमसार महोत्सव २०७८’ सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन

  नयाँ बुलन्द
749 Shares


इलाम : पर्यटन प्रवद्र्धनका लागि इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार क्षेत्रमा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ सुरु भएको छ । भौगोलिक र जैविक विविधताको दृष्टिकोण महत्वपूर्ण मानिएको तेह्रकुनेमा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका छन् ।

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताए । मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको असली रुप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । ‘पर्यटकीय क्षेत्रहरुको असली रुप जस्तो छ, त्यस्तै अवस्थामा संरक्षण गरेमात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्छ’ मुख्यमन्त्री राईले भने, ‘यस्ता सीमसार क्षेत्रहरुको असली रुपमा नै विकास गर्न प्रदेश सरकारले उचित ध्यान दिनेछ ।’

महोत्सव उद्घाटन समारोहमा प्रदेश सभा सदस्य काजीमान कागते, माइ नगरपालिका प्रमुख दिपककुमार थेवे, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भक्त केसी समेतका वक्ताहरुले तेह्रकुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिए । नगर प्रमुख थेवेले तेह्रकुने सीमसार क्षेत्रको विकासमा प्रदेश सरकार र संघीय सरकारसँग हातेमालो गर्दै अगाडी बढ्न चाहेका बताए ।

तेह्रकुने सीमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष कहरसिंह राईको अध्यक्षतामा भएको महोत्सव उद्घाटनका क्रममा उराउ, राई, सुनुवार र लिम्बु समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

महोत्सव ११ पुससम्म संचालन हुनेछ । महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।

महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (लोकल खुकुराको मासुको परिकार) केरा, सिमलको विभिन्न परिकार महोत्सवमा उपलब्ध गराउँने आयोजकका अध्यक्ष राईले बताए ।

चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक, कार्यक्रम, खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । साथै सीमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चड्ने व्यवस्था रहेको छ ।

अन्य पर्यटकीय क्षेत्र जस्तो चर्चामा नरहेको तेह्रकुने सिमसार संरक्षणका लागि स्थानीय बासिन्दा लागिपरेका छन् । सरकारबाट समेत लगानी भएको छ । सिमसार क्षेत्रको संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालय उदयपुरले लगानी गरेका छन् । सिमसार क्षेत्रको पुर्नउत्थानमा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।

सिमसार क्षेत्रको लागि अहिलेसम्म एक सय रोपनी भन्दा बढि जग्गा व्यवस्थापन भइसकेको छ । ३५ रोपनी जग्गामा फैलिएको सिमसार क्षेत्र इलामको पर्यटकीय रुटको गन्तव्य हुने अपेक्षा स्थानीयमा छ । सुखानी सहिद पार्क हुँदै तेह्रकुने पोखरी, इलामको सिद्धिथुम्का, पानीटार, माईपोखरी, श्रीअन्तु कन्याम हुँदै झापा फर्किने पर्यटकीय मार्ग बनाउन सकिने स्थानीयको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार