आयो दशैं भन्दाभन्दै अब गयो दशैं

 

काठमाडौं : आयो दशैं भन्दाभन्दै अब गयो दशैंको चरणमा छ । दशैं आफैंमा शुभ, अशुभ हुँदैन । मानिसको कर्मले यसको रंग निर्धारण हुन्छ । हामीले दशैंको शुभकामना सँगसँगै आफ्नो कर्म, इमान, संकल्प कति मजबुत बनायौं भन्ने महत्वपूर्ण हुन्छ । सबैले सबैको शुभ चाहने यो घडीलाई व्यवहारमा पनि उतार्ने शुभसाइतको मंगलधून मान्न सके मात्र साझा चाडको औचित्य हुन्छ ।

टीकाको अघिल्लो दिनसम्म वर्षौं एउटै भाँडोमा भात खाएका आफ्नै साथीको उछितो काढ्नमा समय खर्चिएका नेताहरुको शुभकामनाको शालीन शब्दावली हेर्दा लाग्छ– उनीहरु महात्मा हुन । मानव प्रेम, वसुधैव कुटुम्बकम उनीहरुको जीवन दर्शन हो । कसैको अहित चिताउने संस्कार उनीहरुले पाएकै छैनन । तन, मन, धन भनेकै जनता हुन । बहुजन हिताय, बहुजन सुखाय नेताहरुको राजनीतिक ब्रत हो । राष्ट्रपति, प्रधानमन्त्री देखि वडा सदस्यसम्मको शैली उही छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटाले दिनुभएको शुभकामना वक्तव्यमा सहमति, सहकार्य, एकता र भाइचाराको सुन्दर अभिव्यक्ति पाइन्छ । प्रधानन्यायाधीश राणाले त आफूमाथि शंका गर्ने प्रवृत्ति दशैंले अन्त्य गरोस भन्ने सम्मको कामना गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएकोमा गौरव गर्नुभएको छ ।

यी शुभकामनाका अक्षर लेख्नुअघि उहाँहरुले आफ्ना कार्यशैलीको स्वमूल्यांकन गर्नुभएन । जनता नमिलेर समृद्धिको यात्रा रोकिएको होइन । जनताका कारण बेथिति बढेको होइन । विचारमा यतिको नैतिक दायित्व बोकेका देशका अभिभावक देश निर्माणमा किन सहयात्रा गर्न सक्दैनन ? देशका ६ जना सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षबीचको उपस्थिति किन एक अर्कालाई बिझाउँछ ?

यो दशैंमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकै ठाउँमा उभिएर देश जनताका लागि एक भएको सन्देश दिएको भए त्यो चाहिँ नेपाली जनताका लागि दशैंको सर्वाधिक ठूलो उपहार हुने थियो । समस्या उहाँहरुको खल्तीपिच्छेका राजनीतिक स्वार्थले उब्जिएको हो । आफ्नै नैतिकताको धरातल कमजोर भएकाहरुले दिएको शुभेच्छा कति अर्थपूर्ण होला ? यो दशैंले नेताहरुको आफ्नै विवेक पहिचानको सामथ्र्य देओस । नेपाली जनको तर्फबाट शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार