बडामहाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल


बडामहाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिँदै आममाफी दिएकोमा आफूहरू गदगद भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ओलीले दिएको आममाफी बडामहाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्‌गद् भयौं !’

वरिष्ठ नेता नेपालले ओली खुसी भएको भनेर व्यङ्ग्य गर्दै यस्तो चरित्रलाई कम्युनिष्ट भन्ने हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले थप्नुभयो, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’

नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद्लाई सलाम गर्नुभएको छ ।

नेता नेपालले भन्नुभयो, ‘केपी ओलीले संसद् विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ भन्न खोज्नुभयो । तर, त्यसलाई हामीले जोगाएका छौं, संविधानको रक्षा गरेका छौँ । स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौं, मसँग जोडिएर देउवालाई विश्वासको मत दिनेलाई सलाम भन्न चाहन्छु ।’

नेता नेपालले पार्टीमा हाल देखिएको अन्तर्विरोध पदका लागि नभएकोसमेत बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले बिहीबार ललितपुरको एक कार्यक्रममा बाटो बिराएका नेताहरूलाईै आममाफी दिने घोषणा गर्नुभएको थियो । उहाँले आजको दिनसम्म जे जस्तो भए पनि अब पार्टीमा मिलेर जानुको विकल्प नभएको भन्दै आममाफी दिएको बताउनुभएको थियो । त्यसअघि अध्यक्ष ओलीले देउवाको पक्षका हस्ताक्षर गर्ने २२ सांसद्लाई स्पष्टिकरण सोधिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार