नेपाली काँग्रेसको महाधिवेशन साउन अन्तिमबाट सुरु हुने

  नयाँ बुलन्द
28 Shares

काठमाडौँ : नेपाली काँग्रेसको महाधिवेशन साउन अन्तिमबाट सुरु हुने गरी केही दिन सर्ने भएको छ । काँग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्ने गरी कार्य तालिका बनाएको भए पनि सो कार्य तालिका प्रभावित भइसकेको छ।

अब काँग्रेसको वडा तहको अधिवेशन २८ साउनमा गर्ने गरी तयारी सुरु गरिएको छ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट उच्च स्रोतले वडा तहको अधिवेशन साउन अन्तिममा सार्ने तयारी भइरहेको जानकारी दिएको हो । मिति भने २८ वा २९ गते गर्ने तय भए पनि टुङ्गो भने भइसकेको छैन ।

यसै गरी पार्टीको १४औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म तय भएकोमा सो मिति समेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ । १६ भदौबाट तोकिएको केन्द्रीय महाधिवेशन २७ भदौबाट सुरु गर्ने गरी छलफल भइरहेको हो ।

‘वडा अधिवेशन २८ वा २९ साउनमा सुरु गर्ने, त्यसो हुँदा केन्द्रीय महाधिवेशन पनि निर्धारित मितिमा हुन सक्दैन कि भन्ने छ, त्यो अवस्थामा २७ भदौबाट केन्द्रीय महाधिवेशन सुरु गर्ने विषयमा छलफल भइरहेको छ, तर कुनै हालतमा भदौ भित्रैमा महाधिवेशन हुन्छ ।’ काँग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा निकट उच्च स्रोतले हाम्रा कुरासँग भन्यो ।

काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले भने वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको जानकारी दिए । ‘वडा र गाउँ नगरका अधिवेशन केही दिन सार्ने विषयमा छलफल भइरहेको छ, तर अन्तिम मिति चाहिँ सार्न नहुनेमा सभापतिको जोड छ,’ काँग्रेस सह महामन्त्री महतले भने ।

हाल काँग्रेस भित्र क्रियाशील सदस्यताको विवाद नटुङ्गिँदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको हो ।

काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले २० असार भित्रै सदस्यताको काम सकेर ३० असार भित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नु पर्ने थियो । तर अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन पाएको छैन । सभापतिले सूची नबुझेसम्म त्यसले अन्तिम रूप पाउँदैन । यस्तै सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडा तहसम्म पुर्‍याउनु पर्ने हुन्छ ।

हाल काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यता सम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ । समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ ।

काँग्रेसमा महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी करिब ९ लाख क्रियाशील सदस्य पुग्ने सदस्यता छानबिन समितिले अनुमान गरेको छ ।

काँग्रेसले निर्धारण गरेको महाधिवेशन कार्य तालिका अनुसार १२ साउनबाट वडा अधिवेशन, यसै गरी गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय छ । यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौका लागि तय छ । यसै गरी पूर्व निर्धारित कार्य तालिका अनुसार केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौँमा गर्ने काँग्रेसको तयारी छ । अब यी सबै तहका कार्य तालिका केही दिन पर सर्ने छ ।

हालसम्म काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १ सय ४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन सकेको जनाएको छ । समितिले २२ निर्वाचन क्षेत्रको विवाद भने टुङ्गाउन सकेको छैन ।

हालसम्म समितिले छानबिन गरेको १४३ निर्वाचन क्षेत्रको सदस्यताको छानबिन गर्दा ७० वटा वडाको सदस्यता स्थगित गरिएको समितिका सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले बताएका छन् ।

नयाँ र पुराना गरी विदेशबाट बाहेक आठ लाख ५० हजार २ सय ३२ जनाले क्रियाशील सदस्यता सम्बन्धी फाराम भरेका छन् । त्यसमध्ये चार लाख ४४ हजार १ सय ४१ नयाँ छन् । बाँकी पुराना सदस्यतामा भने विवाद छैन ।

सदस्यतामा सबैभन्दा बढी प्रदेश २ मा विवाद देखिएको छ । प्रदेश २ को बारा र सप्तरीका सबै निर्वाचन क्षेत्र, सर्लाही क्षेत्र नं. २, धनुषा क्षेत्र नं. ३, सिराहाको एउटा क्षेत्र र रौतहट क्षेत्र नं. १ को क्रियाशील सदस्यतामा विवाद देखिएको छ । सदस्यतामा विवाद देखिएपछि पार्टी केन्द्रीय कार्यालयमा दिनहुँ जसो ती जिल्लाका प्रतिनिधिहरू धर्नासमेत बस्दै आइरहेका छन् ।

प्रदेश १ मा सोलुखुम्बु र सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा विवाद कायमै छ । लुम्बिनीमा कपिलवस्तु-३ र प्युठानमा विवाद कायमै छ भने सुदूरपश्चिमको डडेलधुरा र कैलालीमा विवाद देखिएको छ ।

विवादित स्थानका सदस्यता नटुङ्गिए  १३ औँ महाधिवेशनकै सदस्यतालाई आधार मानेर अधिवेशन गर्न सिफारिस गर्ने छानबिन समितिको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार