फुएतप्पाको थावाखोला लघुजलविद्युत अवरुद्ध हुँदा १६० घरधुरी प्रभावित

  युद्धबहादुर बोहोरा
959 Shares

 

इलाम : फाकफोकथुम गाँउपालिका वडा नम्बर ४ फुएतप्पामा रहेको थावाखोला लघुजलविद्युत आयोजना गएरातीको बाढीले क्षति हुँदा एक सय ६० घरधुरी प्रभावित भएका छन् ।

पावरहाउसमा जाने पानीको पाइप भरिएर ओभरफ्लोका कारण उक्त क्षेत्रमा पहिरो गइ जोखिम बढेपछि संचालन अवरुद्ध भएको आयोजना उपभोक्ता समिति उपाध्यक्ष कविता मुकारुङ राईले जानकारी दिइन् ।

२०७१ साउन १० गतेदेखि संचालन गरिएको १८ किलोवाट क्षमताको यस आयोजनाबाट वडाका साविक १,२,३ र ४ नम्बर वडाका नागरिकले विद्युत सेवा लिंदै आएका थिए । हाइड्रोपावर समेत नभएको सो क्षेत्रमा आयोजना क्षति भएसंगै प्रत्यक्ष रुपमा लाभान्वित उपभोक्ताहरु अहिले अन्धकारमा जीवन गुजारा गर्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।

यस लघुजलविद्युतमा तीन जना कर्मचारी कार्यरत छन् साथै सेवाग्राहीले एक घर बराबर एक सय ५० रुपैयाँ प्रति महिना महसुल बुझाउँदै आएका छन् । विद्युत सेवा ठप्प भएपछि स्थानीय उपभोक्ता र समितिले समस्याको समाधान गर्न सरोकारवाला निकायसंग अनुरोध गरिएको फाकफोकथुम गाउँकार्यपालिका सदस्य समेत रहेकी आयोजना उपाध्यक्ष राईले बताइन् ।

उक्त आयोजना एनसीडीसी इलामको सहयोग र उपभोक्ताहरुको जनश्रमदान गरि करिब एक करोड ५० लाख रुपैयाँको लागतमा तेज इनर्जी कम्पनी पोखराले ठेक्का लिइ २०६८ कार्तिक १५ देखि निर्माण शुरु गरेको थियो । खोलाबाट एक किलोमिटर पक्की कुलो र तीन वटा फिल्टर टेङ्की सहित पावरहाउस बनाइएको यस क्षेत्रमा अहिले पहिरोको जोखिम भने निक्कै बढेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार