
पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको उपचारका लागि आर्थिक सहयोग धमाधम जुट्ने क्रममा छ ।
केहि हप्ता अघि कोरोना संकमण भइ झापाको विर्तामोड स्थित पूर्ण टुङ्गा बिर्ता सिटी हस्पिटलमा भेन्टिलेटर कक्षमा हाल उनको उपचार भइरहेको छ ।
नेपाल प्रेस यूनियन पाँचथरका पूर्व उपाध्यक्ष समेत रहेका भण्डारीलाई दैनिक ५० हजार भन्दा बढी खर्च लाग्ने भएपछि उपचार खर्चमा सहयोग पुर्याउने उदेश्यले नेपाल प्रेस यूनियन पाँचथरको अगुवाईमा रकम संकलन गर्न थालिएको युनियनका अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिए ।
हालसम्म युनियनको पहलमा चार लाख २९ हजार सात सय ९२ रुपैया रकम संकलन भएको छ ।
त्यस मध्ये उनका परिवारको खातामा दुई लाख ६० हजार एक सय ६५ रुपैया जम्मा गरिएको छ भने बाँकी रकम आवश्यकता अनुसार परिवारका सदस्यलाई हस्तान्तरण गरिने युनियनका अध्यक्ष भण्डारीले बताए ।
उनको उपचारका लागि नेपाल पत्रकार महासंघ पाँचथर शाखा कार्यसमितिको तर्फबाट शुरूमा १५ हजार रुपैयाँ सहयोग गरिएको शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।
अहिलेसम्म विभिन्न क्षेत्रबाट उठेको करिब सात लाख भन्दा बढी रकम जिल्लाका सम्पूर्ण संचारकर्मी,संघसंस्था,उद्योगी,व्यावसायि,विद्यालय,पार्टी नेता,नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय,महासंघका विभिन्न जिल्ला शाखा लगायतको तर्फबाट उपलब्ध भएको छ ।
उक्त रकम जुटाउन नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ समिति उपाध्यक्ष लवदेव ढुंगाना तथा पाँचथर शाखाका अध्यक्ष बाँस्कोटाले समेत विशेष पहल गरेको जनाइएको छ ।
उनीहरुको पहलमा २० प्रतिशत अस्पतालतर्फ र औषधी तर्फ १५ प्रतिशत खर्च समेत छुटको व्यवस्था मिलाइएको बताइएको छ । हाल उपचाररत भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको पारिवारिक श्रोतले जानकारी गराएको छ ।
उनको उपचारार्थ प्रेस युनियन पाँचथरले सञ्चालन गरेकाे अभियानबाट उल्लेखनीय उपलब्धि भएकाे र यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव प्रति पाँचथरका संचारर्मीले धन्यवाद ज्ञापन गर्दै हरेक संचारकर्मीलाई कुनै न कुनै बेला यस्तै जटिल परिस्थिति आउन सक्ने हुँदा मानवीय नाताले आवश्यक सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।



















































